सिन्धुली/ मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला टिपेटर बजार पठाउन भ्याइनभ्याइ छ ।
जुनार टिप्ने मध्य समय मङ्सिरदेखि पुस १५ गतेसम्म भएकाले यहाँका जुनार-सुन्तला बगैँचामा किसान, कामदार र व्यापारी तँछाडमछाड गरिरहेका छन् । स्थानीय वरिष्ठ पत्रकार डण्ड गुरुङ भन्नुहुन्छ, ‘जन्मथलोको सुगन्धले पत्रकारिता पेसासँगै कृषि कर्ममा जोडिएको छु । हेर्नुस् त पाखैभरि पहेँलपुर जुनार र सुन्तला ! यहाँको बगैँचामा सुनैसुन छ । बोटमा पैसा फलेको छ ।’
प्रत्येक वर्ष व्यापारीले किसानको बगैँचाबाटै फल उठाउने भएकाले अहिले त्यस क्षेत्रमा उनीहरूको उल्लेख्य उपस्थिति छ । तीनकन्या बगैँचामा सुनौला रङका जुनार-सुन्तला हाँगै भाँचिने गरी लटरम्म फलेको देखिन्छ । फल थेग्न नसकेर झुलेका हाँगालाई टेको लगाएर अड्याइएको छ ।
‘पैसा रुखमा फल्छ र ? कमाउने हो भने विदेश जानुपर्छ’ भन्नेलाई किसानले गलत सावित गरिदिएको उल्लेख गर्दै लटरम्म जुनार देखाउँदै पत्रकार गुरुङ भन्नुहुन्छ, ‘हेर्नुस् त्यहाँ रुखमै झुप्पाकाझुप्पा पैसा फलेको छ ।’
गोलञ्जोर-४ तीन कन्या माझकुभिण्डेका उत्पादित जुनार र सुन्तला गुणस्तरीय र रसिलो भएकाले खरिद गर्ने व्यापारी पैसाको बिटो बोकेर बगैँचामा घुमिरहेका पाइन्छ । त्यस क्षेत्रका किसानका बगैँचामा न्यूनतम ५० देखि अधिकतम एक हजारसम्म जुनार सुन्तलाका बोट रहेको पाइएको छ । जुनारबाट राम्रो मूल्य पाएपछि यहाँका किसानसमेत हर्षित छन् ।
हो, त्यहाँका जुनार-सुन्तलाको एउटै बोटले किसानलाई वार्षिक रूपमा २५ हजार रुपैयाँसम्म मूल्य बराबरको उत्पादन दिँदै आएको छ । अहिले त्यहाँ बगैँचाबाट जुनार प्रतिकिलो ५५ र सुन्तला एक सय रुपैयाँका दरले बिक्री हुँदै आएको छ । बजारमा उपभोक्ता मूल्य भने जुनारको प्रतिकिलो ९० र सुन्तलाको एक सय ३० रुपैयाँ रहेको छ ।
पत्रकार गुरुङले भन्नुभयो, ‘तपाईंहरू यहाँको गाउँघर घुम्नुस्, प्रत्येक घरका बगैँचामा जुनार र सुन्तला नामको पहेँलपुर सुन फलेको छ । अहिले व्यापारी तँछाडमछाड गर्दै पैसाको बिटो लिएर बगैँचामा घुमिरहेको देख्नुहुन्छ ।’
उहाँले भनेजस्तै बगैँचाका प्रत्येक बोटमै पैसा फलेको छ, जुनार-सुन्तला नोटसँग साटिन तम्तयार भएर झुलेको देखिन्छ । गोलञ्जोरको सातै वडाको महाभारत क्षेत्र हावापानीका हिसाबले जुनार-सुन्तला उत्पादनका लागि उर्वर मानिन्छ ।
सरकारी तथ्याङ्कअनुसार त्यस पालिकाबाट मात्रै वार्षिक करिब ४० करोड रुपैयाँबराबरको जुनार-सुन्तला उत्पादन हुने गरेको छ । पत्रकार गुरुङकै सल्लाह र सुझावमा पालिकाले गत मङ्सिरको २३ देखि २५ गतेसम्म माझकुभिण्डेमा बृहत् जुनार प्रवर्द्धन मेलासमेत आयोजना गरको थियो ।
मेलाका अवसरमा बगैँचा पुगेर आफ्नै हातले टिपेर जुनार-सुन्तलाको स्वाद चाख्न तथा बगैँचा अवलोकन गर्न हजारौँ व्यक्ति आन्तरिक कृषि पर्यटकका रूपमा पुगेका थिए ।
स्थानीय मौलिक फल जुनारको राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार गर्ने, आर्थिक र पौष्टिक महत्वबारे जानकारी गराउने, कृषकलाई सम्मान गर्ने तथा उत्पादन बजारसम्म पुर्याउन सरकारसँग सहज सडकको माग गर्ने उद्देश्यले मेला गरिएको थियो । मेलामार्फत देश-विदेशका राष्ट्रिय सञ्चार माध्यममा समेत गोलञ्जोरको जुनारले स्थान र चर्चा पाएको थियो र छ ।
राज्यप्रति स्थानीयवासीको एउटै गुनासो छ, बीस वर्षदेखि सडक कालोपत्र होस् भनी उठाएको आवाज कहिले पूरा हुन्छ ? पूर्वाधार कार्यालय सिन्धुलीका प्रमुख प्रमुख लक्ष्मीप्रसाद सापकोटा किसानको माग बमोजिम चिल्लो र कालोपत्र सडक भएमा सजिलै बजारसँग जोड्ने र उत्पादित फल समयमै बिक्री गर्न सजिलो हुने बताउनुहुन्छ ।
जुनार किसानको मागअनुरूप खनियाखर्कबाट बाहुनतिल्पुङ र देउरालीसम्मको सडक प्रादेशिक सरकारको गुरु योजनामा परेकाले सबैको पहलमा बजेट व्यवस्थापन गर्नुपर्ने आवश्यकता उहाँ औँल्याउनुहुन्छ ।
बिपी राजमार्गको महाभारत क्षेत्रको खनियाखर्कबाट करिब ३५ किमी कच्ची सडकको यात्रा गरी पुग्न सकिने माझकुभिण्डेमा पुग्ने जोकोही पाखैभरि लालुपातेझैँ झुलेका जुनार-सुन्तलाका बोट देखेपछि छक्कसँगै दङ्गसमेत पर्ने छन् ।
जुनार र सुन्तलाको फूल फल्नासाथ व्यापारी टोकनबापतको रकम लिएर किसानका बगैँचामा पुग्ने गरेका छन् । केही वर्षदेखि जुनारमा औँसा, सुडेपुतली र ढुसीलगायत रोग देखिएपछि किसानले जुनारस्रोत तथा अनुसन्धान केन्द्र स्थापनाका लागि माग गरिरहेका छन् ।
महाभारत शृङ्खलाको काखमा पूर्वउत्तर ढल्किएको तीनकन्या क्षेत्रबाट तल सुनकोशी गडतिर र रामेछाप क्षेत्रको भूगोल तथा गौरी शङ्करलगायत हिमाल छर्लङ्ग देखिने भएकाले प्राकृतिक दृश्यावलोकनका हिसाबले समेत यो भूभाग महत्त्वपूर्ण मानिन्छ ।
नाम कसरी रह्यो ?
जुनारको इतिहास दुई सय वर्ष अघिको छ । जुनारलाई गोलञ्जोरमै उत्पत्ति भएको फल मानिन्छ । यसको इतिहास नेपालको लोपोन्मुख जाति हायु परिवारसँग जोडिएको छ । प्रारम्भमा जुनारका बिरुवा कोसेलीका रूपमा नजिकको गाउँ वितरण गरिएको भन्ने छ ।
करेसाबारीमा अनौठो फल फलेपछि स्थानीय हायु परिवारले तत्कालीन राजा/महाराजलाई चखाउन पठाएका थिए । उहाँहरूले ‘जिउनार’ गरेको र मिठो रहेको सुनाएपछि त्यो फलको नाम ‘जुनार’ रहन पुगेको विश्वास गरिएको छ ।
दानेदार रसिलो जुनार भर्खरै जन्मिएको बालकदेखि वृद्धवृद्धासम्म सबै उमेर समूहलाई खुवाउन मिल्ने फल हो । स्थानीय तीन कन्यामै उत्पत्ति भएको मानिएको जुनारको व्यावसायिक खेती भने २०३२ सालदेखि हुँदै आएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस