
भोजपुर/ भौगोलिक विकटताका कारण नगरपालिका केन्द्रसम्म पुग्न कठिनाइ भोग्दै आएका नागरिकलाई लक्षित गर्दै षडानन्द नगरपालिकाले वडास्तरमै योजना सम्झौता तथा उपभोक्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
स्थानीय नागरिकलाई सहज सेवा प्रदान गर्ने र विकास योजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले नगरपालिकाले नागरिकको घरदैलोमै पुगेर सेवा प्रवाह थालेको हो ।
नगरपालिकाले वडास्तरमै योजना सम्झौता, बैङ्किङ सेवा, योजना सञ्चालन विधि, गुणस्तर मापदण्ड, प्रभावकारिता र कार्यान्वयनका आवश्यक प्रक्रियासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरेको षडानन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम लामाले जानकारी दिनुभयो ।
भौगोलिक विकटताका कारण नगर केन्द्रसम्म आउन स्थानीयले भोग्नुपरेका समस्यालाई ध्यानमा राख्दै सेवा वडास्तरबाटै सञ्चालन गरिएको उहाँको भनाइ छ ।
नगरपालिकाका १४ वटा वडामध्ये भौगोलिक रूपमा अत्यन्तै विकट रहेका वडाका नागरिकलाई प्राथमिकताका साथ वडास्तरबाट सेवा प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत लामाले बताउनुभयो । पुस ५ गतेदेखि अभियानकै रूपमा सेवा प्रवाह सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
‘सेवालाई सहज र सरल रूपमा नागरिकसम्म पुर्याउने लक्ष्यका साथ काम गरिरहेका छौँ’, प्रमुख प्रशासकीय अधिकृत लामाले भन्नुभयो, ‘कतिपय वडाका नागरिकलाई नगरपालिकासम्म आइपुग्न निकै कठिन हुन्छ । त्यसैले अभियान नै सञ्चालन गरेर घरदैलोमा सेवा पुर्याएका हौँ ।’
नगरपालिकाबाट सञ्चालन हुने योजनालाई समयमै र प्रभावकारी रूपमा सम्पन्न गराउने उद्देश्यले अनुगमन र कार्यान्वयन प्रक्रियालाई थप कडाइका साथ अघि बढाइने उहाँले बताउनुभयो ।
नगरपालिकावासीले भौगोलिक विकटताका कारण केन्द्र दिङ्लासम्म आइपुग्दा भोग्नुपर्ने समस्यालाई ध्यानमा राख्दै वडास्तरबाट सेवा प्रवाह गरिएको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो । नागरिकलाई सहज सेवा प्रदान गर्न अभियान सञ्चालन गरिएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो ।
‘नागरिकलाई सहज सेवा दिने लक्ष्यका साथ वडास्तरबाट नगरको सेवा प्रवाह गरिरहेका छौँ’, नगरप्रमुख उदासले भन्नुभयो, ‘घण्टौँ यात्रा गरेर सेवा लिन आउँदा समय र हजारौँ रुपैयाँ खर्चिनुपर्ने बाध्यता हटाउन यो अभियान प्रभावकारी भएको छ । यसले योजनाको कार्यान्वयन र प्रभावकारिता दुवै बढ्नेछ ।’
स्थानीय सरकार भएकाले नागरिकलाई प्रदान गरिने सेवामा सहजता ल्याउन र योजनालाई गुणस्तरीय बनाउने लक्ष्यसहित वडास्तरबाट सेवा प्रवाह गरिएको षडानन्द नगरपालिका उपप्रमुख प्रमिला राईले बताउनुभयो । भौगोलिक रूपमा ठूलो र विकट क्षेत्रसमेत समेटिएको नगर भएकाले सेवाको पहुँच विस्तार गर्न वडास्तरमै कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ ।
‘विकट पुगेर वडाबाटै योजना सम्झौता गरेका छौँ’, उपप्रमुख राईले भन्नुभयो, ‘नगरपालिकासम्म आउँदा नागरिकको समय र खर्च दुवै बढी लाग्ने भएकाले घरदैलोमै सेवा पुर्याउने प्रयास गरेका हौँ ।’
-रासस
प्रतिक्रिया दिनुहोस