रुपन्देही/ नेपालको पहाडी क्षेत्रमा देखिने परम्परागत कुँडेले घर अब बुटवलको फूलबारीमा देख्न सकिन्छ । आकर्षक देखिने कुँडुले घर गोलाकार, माटोले लिपिएको र खरले छाएर बनाइन्छ ।
दुईतले यो घर परम्परागत शैली र सानो लगानीमा तयार गरिएको छ । यो घर अहिले बुटवलको रमणीय पर्यटकीय स्थल मणिमुकुन्द सेन उद्यान फूलबारीको माथिल्लो भागमा निर्माण गरिएको छ । पहाडी क्षेत्रको परम्परागत संस्कृति झल्काउने गरी उद्यानको पश्चिम क्षेत्रमा कुँडुले घर निमार्ण गरिएको छ । यो घरले त्यहाँ पुग्ने सबैको ध्यान केन्द्रित गरेको छ । कुँडुले घर छ नै यस्तै ।
फूलबारी घुम्न आउनुभएकी पोखराकी सृजना सुनारले बुटवलमा बनेको कुँडुले घरले मोहित बनाएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘पुर्खाले जीवन बिताएको यस किसिमको घरले सबैलाई मोहनी लाउने रहेछ ।’
यस्तै बुटवलका सुवास सुनार पनि कुँडुले घरमा भेटिनुभयो । केही दिन अघि मात्रै उद्घाटन भएको यो घर निकै सुन्दर रहेको सुवासले बताउनुभयो । उहाँको भनाइ छ, ‘भर्खरै बनेको यो घर वरिपरि भौतिक संरचना बन्न बाँकी नै रहेछ, सबै बनिसकेपछि त झन सुन्दर हुन्छ होला ।’
बाहिरबाट हेर्दा पनि चिटिक्क गोलाकार कुँडुले घर, घरको भित्रपट्टी पहाडी क्षेत्रमा प्रयोग गरिने परम्परागत सामग्री राखिएको छ ।
विशेषगरी जाडोयाममा न्यानो र गर्मीमा शीतल हुने कुँडुले घरमा बाँसबाट बनेको डोको, परालबाट बनेको चकटी, सुपो, डालो, पानी परेको समयमा खेतबारीमा काम गर्दा ओढ्ने स्याकु, गुन्द्री, मकै भुट्न प्रयोग गरिने माटाको हाँडी, जाँतो, लालटिन राखिएको छ ।
त्यस्तै, खेतबारी जोत्ने क्रममा गोरुले अन्य बाली नखाओस् भनी गोरुको मुखमा लगाइने मकरा, माछा मार्ने क्रममा प्रयोग गरिने बाँसबाट बनाइएको सामग्री, परम्परागत चुलोलगायतका घरायसी प्रयोगका सामग्री राखिएका छन् भने कुँडुले घरको बाहिरपट्टि ढिकी राखिएको छ ।
उद्यानका प्रशासकीय अधिकृत अमितकुमार श्रेष्ठले विशेषगरी पहाडी क्षेत्रमा हुने यस्ता घर पछिल्लो पिँढीले महसुस गर्न नपाएको र पुर्खाहरूले प्रयोग गर्ने सामग्रीका बारेमा जानकारी र ज्ञानका लागि यो निर्माण गरिएको बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘पाल्पाबाट कामदार झिकाएरै यो घर निर्माण गरेका हौँ । कुँडुले घर भर्खरै निर्माण भएको छ । यसको प्रचारप्रसार व्यापक बनाउनु छ । आगामी दिनमा परम्परागत खानाका परिकारसमेत पस्कने योजना छ । हेरौँ कतिसम्म सफल भइन्छ ।’
कुँडुले घरमा आगामी दिनमा आँटो, फापर, भुटेको मकै, ढिँडो, भटमासजस्ता परम्परागत खाना पनि व्यवस्थित तरिकाले राखिने उद्यानका प्रमुख कार्यकारी अधिकृत अनन्त सिलवालले जानकारी दिनुभयो । फूलबारीमा सौन्दर्यीकरणको कामलाई दीर्घकालीन योजनासहित अघि बढाएको उहाँले बताउनुभयो ।
फूलबारी सेन वंशीय राजाहरूले राज्य गरेको दरबारलाई स्वरुप दिने गरी पुरातत्व विभागसँग समन्वय अघि बढाइएको फूलबारीका अध्यक्ष माधव नेपालले जानकारी दिनुभयो । यसैगरि उत्तर पश्चिममा रिचार्ज पोखरीसँगै स्विमिङ पूल निर्माण गरी गर्मीको मौसममा पर्यटकका लागि रमणीयस्थल बनाउन थालिएको नेपालको भनाइ छ ।
यस्तै, फूलबारीमा पाकापुस्तालाई लक्षित गरि सन्चोबिसन्चो केन्द्र निर्माण हुन थालेको अध्यक्ष नेपालले जानकारी दिनुभयो । घरमा समय बिताउन कठिनाइ भएका वृद्धवृद्धालाई लक्षित गरी भुलाउने स्थलका रुपमा भजन कीर्तन र एकापसमा संवाद गराउने थलो बनाउन लागिएको छ ।
नेपालले सबै उमेर र समूहको लागि रमणीय थलो बनाउने योजना रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘हालको लागि कुँडुले घर मात्र निर्माण भएको छ । यसलाई थप आकर्षक बनाउन बाँकी नै छ ।’
उद्यानका अध्यक्ष नेपालले कुँडुले घरलाई थप आकर्षण प्रदान गर्न रुखमा लज, रेष्टुरेन्ट, पार्क हस्पिटालिटी (पार्कभित्रको आतिथ्यका बारेमा जानकारीको अवधारणा), रिचार्ज पोखरीजस्ता भौतिक कार्य गरिने जानकारी दिनुभयो ।
कुँडुले घरको छेउमै सेल्फी जोन निर्माणको चरणमा रहेको छ । पछिल्लो समयमा मानिसहरूको इच्छा र चाहनालाई मध्यनजर गर्दै सेल्फी जोनको निर्माण गर्न लागिएको हो ।
यी सबै कार्य अबको एक वर्षभित्र सम्पन्न हुने जनाइएको छ । गत वर्ष फागुन १७ गते बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले विधिवत पूजा गरी कुँडुले घरको शिलान्यास गर्दै जितगढी, फूलबारी र नुवाकोटलाई एकीकृत विकासको योजना बनाएर अघि बढाएको बताउनुभएको थियो ।
उपमहानगरपालिकाबाट १४ लाख रुपैयाँ बजेट विनियोजन भई उद्यानबाट थप गरि १९ लाख रुपैयाँ लागतमा पहिले एउटा घर निर्माण गरिएको छ । कुँडुले घर गत मङ्सिर २८ गते निर्माण सम्पन्न भई नगरप्रमुख पाण्डेको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो । नगरप्रमुख पाण्डेले यो कुँडुले घर फूलबारीमा पर्यटकलाई आकर्षण गर्ने विश्वास व्यक्त गर्नुभयो ।
फूलबारीमा बिदाको दिनबाहेक दुई हजार पाँच सयदेखि तीन हजारसम्म मानिसहरू घुम्नका लागि पुग्ने गर्छन् भने बिदाको दिनमा यो सङ्ख्या बढेर पाँच हजार पाँच सयसम्म पुग्ने कार्यालयले जनाएको छ ।
फूलबारी प्रवेशका लागि नेपालीलाई ६० रुपैयाँ, विद्यार्थीका लागि ४० रुपैयाँ र भारतीय नागरिकका लागि एक सय रुपैयाँ तोकिएको छ । यो याममा दैनिक सरदर पाँच सयदेखि ६ सय भारतीय नागरिक घुम्न र अवलोकनका लागि आउने गरेको कार्यालयले जनाएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस