आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

अङ्ग्रेजी नयाँ वर्षको स्वागतका लागि सिँगारियो पोखरा


  • आफ्नै खबर
  • २०८२ पौष १५, मंगलबार ३ महिना अघि
  • ३२ पाठक संख्या
  • कास्की/  सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतीक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ । रङ्गीचङ्गी तुल, ध्वजापताका र प्रवेशद्वारले पोखराको लेकसाइड क्षेत्र सिँगारिएको छ ।

    नयाँ वर्षको छेकोमा आयोजित सडक महोत्सवले लेकसाइडमा बेग्लै चहलपहल छ । पसल र रेष्टुराँबाट निस्कने सङ्गीतको मधुर धुनसँगै आगन्तुकहरू ओहोरदोहोर गरिरहेका देखिन्छन् । सडक छेउछाउ राखिएका व्यावसायिक कक्षमा किनमेल गर्नेको भीड छ । 

    मौलिक झाँकी, नृत्यदेखि साङ्गीतिक ‘कन्सर्ट’मा पर्यटक झुमिरहेका छन् । लेकसाइडको साढे तीन किमी सडकमा महोत्सव चलिरहेको छ । आइतबारदेखि सुरु भएको महोत्सव बिहीबारसम्म चल्ने आयोजक रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका अध्यक्ष विश्वराज पौडेलले बताउनुभयो ।

    अङ्ग्रेजी नयाँ वर्षका अवसरमा यस महोत्सव २७औँ संस्करणसम्म आइपुगेको उहाँको भनाइ छ । यस वर्षको महोत्सवमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको अध्यक्ष पौडेलले बताउनुभयो ।

    ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मूल मन्त्रका साथ महोत्सव आयोजना गरिएको हो । ‘आयोजक रेवान भए पनि यो सबै पर्यटन व्यवसायी र पोखरेलीहरूको उत्सव हो’, उहाँले भन्नुभयो, ‘महोत्सवमा संस्कृति र सङ्गीतको समायोजन गरिएको छ । मनोरञ्जनसँगै व्यवसाय प्रवर्द्धनका लागि सडक महोत्सव सफल हुने हाम्रो विश्वास छ ।’  

    नयाँ वर्षको स्वागतका लागि बुधबार राति स्थानीय गोमागाने पार्कमा विशेष साङ्गीतिक उत्सवको आयोजना गरिएको छ । जहाँ पोखराली ब्यान्ड डी-मर्चा, लेकाली, देउराली, एक्स नेपथ्यलगायत गुञ्जिने भएका छन् । महोत्सवमा हस्तकला सामग्री र कृषि उपजलाई बिक्री तथा प्रदर्शनमा राखिएको छ । पोखराको पहिचान झल्काउने वृत्तचित्र र तस्बिर प्रदर्शनी भइरहेको छ । 

    सबै उमेर समूहका पर्यटकलाई लक्षित गरी विविध मनोरञ्जनात्मक गतिविधि र खेलकुदको समेत आयोजना गरिएको छ । सिन्धुलीको पञ्चेबाजा, थारू नाचसहित गुरुङ, मगरहरूको सांस्कृतिक नाच र गीतले महोत्सवमा मौलिकता थपेको छ ।

    सोमबार ‘जिम्मेवार पर्यटन’ विषयमा विज्ञहरूसमेतको सडक बहस आयोजना गरिएको थियो । वेटर्स दौड, डुङ्गा दौड जस्ता प्रतियोगिताले महोत्सवमा दर्शक आकर्षित गरेको छ । आज ल्होसार विशेष कार्यक्रमसहित साँझ ‘स्वप्न सुमन र केहर एन्ड द लुङ्गा’ ब्यान्डले प्रस्तुति दिँदैछ । बुधबार मध्यरातमा विशेष साङ्गीतिक उत्सवसहित सन् २०२६ लाई स्वागत गरिनेछ । 

    विश्व पर्यटन बजारमा चिनिएको पोखरा पछिल्लो समय नयाँ वर्षको गन्तव्यका रुपमा स्थापित भएको होटल सङ्घ, पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा लेकसाइडका होटल तथा रेस्टुराँ पाहुनाले भरिभराउ रहेको उहाँको भनाइ छ ।

    ‘केही दिनयता होटलको अकुपेन्सी ७५ प्रतिशतसम्म पुगेको छ । नयाँ वर्षका लागि अधिकांश होटल बुकिङ भइसकेका छन्’, अध्यक्ष सुवेदीले भन्नुभयो, ‘आन्तरिकसँगै विदेशी पर्यटकको पनि चहलपहल बढेको छ । विदेशीमा भारतीय पर्यटक धेरै छन् ।’ 

    पोखरामा हाल एकै रातमा झण्डै ४० हजार पर्यटकलाई राख्न सक्ने होटलहरूको क्षमता छ । सडक महोत्सवलाई लक्ष्य गरेर पोखरामा रात्रिकालीन बस सेवासमेत सञ्चालन गरिएको छ । लेकसाइडका डिस्को, बार, क्लब जस्ता मनोरञ्जनस्थल चौबीसै घण्टा खुला गरिएको छ ।

    पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले सडक महोत्सवले पोखराको पर्यटकीय गतिविधिलाई चलायमान बनाएको बताउनुभयो । उहाँले स्थानीय अर्थतन्त्र उकास्न र व्यवसायीहरूको मनोबल बढाउन पनि मेला-महोत्सव आयोजना भइरहनुपर्ने धारणा राख्नुभयो ।

    नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले सडक महोत्सवले आर्थिकसँगै पोखराको पर्यटकीय गतिविधिमा टेवा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पोखरामा हुने यस्ता उत्सवहरूले यहाँको पर्यटनलाई प्रवर्द्धन गर्छ । पर्यटन फस्टायो भने आर्थिक अवसर सिर्जना हुन्छ । पोखराको आर्थिक रूपान्तरणको प्रमुख स्रोत पर्यटन हो ।’

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु