आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

विकट गाउँमा वर्षकै ३ करोडको माछा बिक्री


  • आफ्नै खबर
  • २०८२ पौष १५, मंगलबार ३ महिना अघि
  • ३० पाठक संख्या
  • पर्वत/  आफ्नै माटोमा भएको अथाह सम्भावना नदेखेर दैनिक हजारौँ युवायुवती पलायन भइरहेकाबेला खोलामा बगेर खेर गइरहेको पानी सदुपयोग गरी एक पूर्वप्रहरीले वार्षिक तीन करोड रुपैयाँको कारोबार गर्दै आउनुभएको छ । पर्वतको मोदी गाउँपालिका-२ देउपुरका विकास तिमिल्सिनाले गाउँमा रेन्बो ट्राउट माछापालनबाट वार्षिक तीन करोड रुपैयाँको कारोवार गर्दै आउनुभएको हो । 

    २१ वर्ष लामो प्रहरी सेवा र २०७४ सालको स्थानीय तहको निर्वाचनमा मोदी-२ देउपुरको वडाध्यक्षसमेत बनेर कार्यकाल सक्नुभएका तिमिल्सिनाले अन्य चार जना स्थानीयवासीसँगको लगानीमा रेन्बो ट्राउन फार्म सञ्चालन गर्नुभएको हो ।

    मोदी-५ बाजुङको टिमुरेस्थित पातीखोलाको मुहानमा करिब ३० रोपनी क्षेत्रफलमा तीन करोड रुपैयाँको लगानीमा सञ्चालित फार्मबाट वार्षिक रूपमा तीन करोड रुपैयाँको कारोबार हुने गरेको उहाँले जानकारी दिनुभयो ।

    फार्ममा उत्पादन क्षमता रहेको ३० टन माछा बिक्रीबाट तीन करोड रुपैयाँ आम्दानी हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘फार्मसम्म जाने सडकको अवस्था भने निकै खतरनाक छ । तर पनि हरेस नखाई व्यवसायलाई निरन्तरता दिएको छु ।’

    लामो समय ट्राफिक प्रहरीमा रहेर प्रहरी सहायक निरीक्षकसम्म पुगेपछि अवकाश हुनुभएका तिमिल्सिना जागिर छाडेको तीन महिनामा जनप्रतिनिधि बन्नुभएको थियो ।

    जनप्रतिनिधिको कार्यकाल सकिएसँगै व्यवसायमा जोडिनुभएका तिमिल्सिनाको अहिले पूर्ण कार्यकाल माछापालनमा बित्ने गरेको छ । चारैतिर वन र दुईतिर खोलाको बीच भागमा रहेको मोदी रेन्बो ट्राउट प्रालि चिसोपानीमा हुर्कने रेन्बो ट्राउट माछापालनका लागि उपयुक्त हावापानी भएको क्षेत्र हो ।

    पोखरा बागलुङ राजमार्गअन्तर्गत पातीचौर बजारबाट पाँच किलोमिटरको दूरीमा पुग्न सकिने उहाँको फार्म जोकोहीका लागि मन लोभ्याउने केन्द्र बनेको छ ।

    फार्ममा उत्पादित ट्राउट माछा पोखरा, काठमाडौँका माछा पारखीसम्म पुग्ने तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार फार्ममा हाल पाँच जनाले रोजगारी पाइरहेका छन् । फार्ममा वार्षिक ३० टन माछा उत्पादन हुने उहाँले जानकारी दिनुभयो । 

    २०७१ सालदेखि सुरु भएको उक्त फार्म सुरुमा यामप्रसाद शर्मासहितका व्यक्तिले सञ्चालन गरेका थिए । केही वर्षअघि आएको बाढीले फार्म पूर्ण रूपमा क्षतिग्रस्त भएपछि नजिकै थप जग्गा व्यवस्थापन गरी विकास तिमिल्सिना, यामप्रसाद शर्मा, प्रेम पौडेल, राजेश शाही र राजु खड्का गरी पाँच जनाले सामूहिक लगानीमा पुनः नयाँ जग्गामा फार्म सञ्चालन गरिएको थियो । फार्म व्यवस्थापनको जिम्मा तिमिल्सिनाले लिनुभएको छ ।

    सञ्चालक तिमिल्सिनाले फार्मबाट भएको आम्दानीमध्ये सबै खर्च कटाएर एक करोड रुपैयाँभन्दा बढी बचत हुने गरेको जानकारी दिनुभयो । हाल रेन्बो ट्राउट प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री हुने गरेको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु