
झापा/ गाउँका धेरै युवाजस्तै विदेश जाने सपना देखेर होइन, आफ्नै माटोमा बसेर प्रविधिसँग मित्रता गाँस्दै सफलता खोज्ने आँट गरे झापाका दुई दाजुभाइले ।
शिवसताक्षी नगरपालिका-२, सङ्गमचोकका प्रदीप चौहान र पवन चौहान आज ‘विदेश कहिले जाने ?’ भन्ने प्रश्नको उत्तर आफ्नै युट्युब च्यानलमार्फत दिइरहेका छन् । मध्यम वर्गीय परिवारमा जन्मिएका यी दाजुभाइको पहिचान अहिले ‘विदेश नजाने तर विश्वभर चिनिने नेपाली क्रियेटर’ का रूपमा स्थापित भएको छ ।
सानो कोठामा, साधारण मोबाइलबाट सुरु भएको उनीहरूको यात्राले आज ‘सानो क्रियेटर’ नामक युट्युब च्यानललाई विश्वकै चर्चित मिनिएचर कन्टेन्ट प्लेटफर्ममध्ये एक बनाएको छ । करिब दुई वर्षको अवधिमै झण्डै ४५ लाख सब्सक्राइबर, करोडौँ भ्युज र मासिक लाखौँ आम्दानी । यो सफलता आकस्मिक होइन, निरन्तर प्रयास, असफलताबाट सिकाइ र फरक सोचको परिणाम हो ।
मध्यम परिवारदेखि डिजिटल संसारसम्म
प्रदीप चौहान २९ वर्षको हुनुभयो । उहाँले कक्षा १२ सम्म अध्ययन गर्नुभएको छ । पढाइमा औसत भए पनि सानैदेखि केही नयाँ बनाउने, बिगार्ने र फेरि जोड्ने उहाँको बानी थियो । घरमा कुनै इलेक्ट्रोनिक सामान आइपुग्यो भने त्यसका पाटपुर्जा खोलेर हेर्ने, कसरी चल्छ भनेर बुझ्ने उहाँको स्वभाव नै थियो ।
कक्षा १२ सकेपछि परिवारसँग दुई बिघा जमिन भएकाले प्रदीपले कृषिलाई नै भविष्य ठानेर यसमै समर्पण गर्ने सोच बनाउनुभयो । लेयर्स कुखुरापालनदेखि बङ्गुर व्यवसायसम्म उहाँले विभिन्न प्रयोग गर्नुभयो ।
सुरुआतमा आशा पलाए पनि गाउँमै धेरै मानिस एउटै व्यवसायमा लागेपछि उत्पादन बढ्यो, बजार खुम्चियो र लगानी डुब्न थाल्यो । करिब २५ लाख रुपैयाँको कृषि ऋण, घरपरिवारको जिम्मेवारी र असफलताले उहाँहरूलाई मानसिक रूपमा निकै कमजोर बनायो । प्रदीप विगत सम्झिनुहुन्छ, ‘निराशा चरम सीमामा पुगेको थियो, तर हामीले हार मानेनौँ ।’
असफल प्रयास र नयाँ सोचको जन्म
आजभन्दा झण्डै ६ वर्ष पहिले कोभिड-१९ को समय । घरमै थुनिएको अवस्था, बाहिर कामको अवसर शून्यजस्तै । त्यही समयमा प्रदीपले युट्युबलाई एउटा सम्भावनाका रूपमा हेर्नुभयो । एउटा च्यानल खोलेर नयाँ ठाउँ, नयाँ परिवेशका भिडियो हाल्न थाल्नुभयो ।
तर खासै दर्शक आकर्षित हुन सकेनन् । त्यतिखेर उहाँहरूसँग न त महँगो क्यामेरा थियो, न त स्टुडियो । आइफोन ७ प्लस नै सबैथोक थियो । प्रदीप भन्नुहुन्छ, ‘भिडियो हाल्यौँ तर प्रतिक्रिया आएन । धेरैपटक मन खिन्न भयो ।’
तर यही असफलताले उहाँलाई सिकायो, युट्युबमा सफल हुन जे मन लाग्यो त्यही हाल्ने होइन, ‘दर्शकले के खोजिरहेका छन्’ बुझ्नुपर्छ । त्यसपछि उहाँले युट्युब एल्गोरिदम, ट्रेन्डिङ भिडियो, विभिन्न सामाजिक सञ्जालका कन्टेन्टहरू गहिरो अध्ययन गर्न थाल्नुभयो ।
कुन भिडियो धेरै हेरिन्छ ? किन हेरिन्छ ? दर्शकको ध्यान कहाँ टिक्छ ? यही अनुसन्धानले एउटा नयाँ विचार जन्मायो, सानो, सरल तर सबैलाई चासो लाग्ने कन्टेन्ट निर्माण गर्नुपर्छ ।
‘सानो क्रियेटर’ : सानो सोच, ठूलो प्रभाव
सन् २०२३ को सुरुआत । प्रदीप र पवनले ‘सानो क्रियेटर’ नामक युट्युब च्यानल खोल्नुभयो । यो च्यानलको अवधारणा थियो, दैनिक जीवनका ठूला कामहरू सानो आकारमा देखाउने । प्रदीपलाई साना गाडी र संरचना बनाउने रुचि थियो । पवनलाई भिडियो खिच्ने र एडिट गर्ने । दाजुभाइको यही फरक-फरक सीप एउटै उद्देश्यमा जोडियो ।
चप्पलका चक्का काटेर बनाइएका साना ट्रक, ट्याक्टर, घर निर्माणका सामग्री, साना गाडीले माटो बोकेको दृश्य, यी सबै साधारण सामग्रीबाट बनाइएका थिए । तर, त्यसमा कल्पना, मेहनत र धैर्य मिसिएको थियो । भाग्यवश, च्यानलको पहिलो भिडियोदेखि नै दर्शकको ध्यान तान्न सफल भयो । भिडियोहरू भाइरल हुन थाले । एकपछि अर्को भिडियो लाखौँ पटक हेरिन थाल्यो ।
‘सानो क्रियेटर’ मा देखिने साना ट्रक, खेत खन्ने मेसिन, घर बनाउने सामग्री, यी सबै दाजुभाइले आफैँ बनाउने गर्नुहुन्छ । बाहिरको ठूलो क्षेत्र होइन, आफ्नै स्टुडियोभित्र सानो संसार तयार हुन्छ । गाडीले सामान बोकेको, फिल्ड खनेको, घर निर्माण गरेको दृश्य यथार्थजस्तै देखिन्छ ।
यही यथार्थपरक ‘मिनिएचर’ संसारले दर्शकलाई बाँधेको छ । प्रदीपको यो कामलाई भाई पवनले पनि पूरै साथ दिनुभएको छ । प्रदीप भन्नुहुन्छ, ‘दुबै जना नभए भिडियो बनाउन असम्भव हुन्छ ।’एक जनाले संरचना बनाउँछ, अर्कोले त्यसलाई जीवन दिन्छ, क्यामेराबाट ।
विश्वभर फैलिएका दर्शक
आज ‘सानो क्रियेटर’का दर्शक नेपालमा मात्र सीमित छैनन् । करिब ६० प्रतिशत दर्शक भारतका छन् । नेपाली दर्शक भने करिब दुई प्रतिशत मात्रै । भारत, नेपालबाहेक पाकिस्तान, बङ्गलादेश, थाइल्याण्ड, श्रीलङ्कालगायतका देशमा पनि उहाँहरूको भिडियो अत्यन्त रुचाइन्छ । भाषाभन्दा पनि दृश्यमा आधारित कन्टेन्ट भएकाले विश्वभरका दर्शकले सजिलै बुझ्छन् ।
यही अन्तर्राष्ट्रिय दर्शक नै उहाँहरूको आम्दानीको मुख्य आधार बनेको छ । प्रदीपका अनुसार जस्तो पायो त्यस्तै भिडियो निरन्तर हाल्नुभन्दा केही समयको अन्तर राखेर भिडियो अपलोड गर्नु राम्रो हुन्छ । भिडियो बनाउन धेरै मेहनत लाग्छ, त्यसैले उहाँहरूले महिनामा करिब १० देखि १२ वटा भिडियो मात्र ‘अपलोड’ गर्नुहुन्छ ।
‘भ्युज’ होइन, विज्ञापनको खेल
प्रदीपका अनुसार युट्युबको आम्दानी भ्युजसँग मात्र जोडिएको हुँदैन । भिडियो सुरु हुँदा आउने विज्ञापन नै आम्दानीको मुख्य स्रोत हो । उहाँ भन्नुहुन्छ, ‘डिजिटल साक्षरता बढी भएको देशमा बज्ने विज्ञापनको दर नेपालभन्दा धेरै हुन्छ ।’
त्यसैले नेपालभन्दा बाहिरबाट धेरै ‘भ्युज’ आए आम्दानी पनि बढी हुन्छ । कुनै भिडियो धेरै हेरियो भने विज्ञापन पनि बढी आउँछ । यही कारणले एउटै भिडियोले ६ करोड २० लाख ‘भ्युज’ पाउँदा एक महिनामा करिब २९ हजार अमेरिकी डलरसम्म आम्दानी भएको अनुभव प्रदीप साझा गर्नुहुन्छ ।
प्रदीपका अनुसार, दुई वर्षअघि अपलोड गरिएको भिडियो अहिले पनि धेरै हेरिने भएकाले उक्त भिडियोबाट अहिले पनि आम्दानी भइरहेको हुन्छ । हालसम्म युट्युबमार्फत उहाँहरुले मासिक करिब सात लाखदेखि अधिकतम ४१ लाख नेपाली रुपैयाँसम्म आम्दानी गर्नुभएको छ ।
ऋणको भारीदेखि करोडपति जीवनसम्म
दुई वर्षअघि उहाँहरूसँग काठको टाँडे घर थियो । कृषि ऋणको भारले भविष्य अन्धकार देखिन्थ्यो । आज भने युट्युबकै कमाइले करोडौँ लगानीमा घर निर्माण भएको छ ।
चारपाङ्ग्रे विद्युतीय गाडीसमेत खरिद गर्नुभएको छ । तर, उहाँहरूका लागि सबैभन्दा ठूलो उपलब्धि पैसा होइन । प्रदीप भन्नुहुन्छ, ‘सबैभन्दा ठूलो कुरा आत्मविश्वास हो ।’ असफलताबाट उठेर आफूले केही गर्न सक्छु भन्ने विश्वास नै उहाँहरूको साँचो पुँजी बनेको छ ।
प्रदीप चौहान अरूको नक्कलभन्दा फरक बाटो रोज्न युवालाई स्पष्ट सन्देश दिनुहुन्छ । उहाँका अनुसार सफलता कुनै तय ढाँचामा बन्द हुँदैन ।
उहाँ भन्नुहुन्छ, ‘अरूले के गर्यो भनेर त्यही दोहोर्याउनु सजिलो हुन्छ । तर, दिगो सफलता आफ्नै सोच र सीपबाट मात्रै आउँछ ।’ आफूसँग जे छ, जति छ, त्यसलाई फरक तरिकाले प्रस्तुत गर्नसके त्यो नै ठूलो अवसर बन्न सक्ने प्रदिपको अनुभव छ ।
आज प्रविधि गाउँ-गाउँसम्म पुगेको छ । महँगो उपकरण, ठूलो स्टुडियो वा ठूलो लगानी नभए पनि सिर्जनात्मक सोच र निरन्तर अभ्यासले सामाजिक सञ्जाललाई आम्दानीको बलियो माध्यम बनाउन सकिने प्रदीपको विश्वास छ । उहाँ थप्नुहुन्छ, ‘प्रविधि आफैँमा ठूलो शक्ति हो । प्रश्न यसलाई कसरी प्रयोग गर्ने भन्ने हो ।’
विदेश जाने लाइनमा नलागेर आफ्नै गाउँबाट विश्व बजारमा पुगेका चौहान दाजुभाइको यात्रा केवल युट्युब सफलताको कथा मात्र होइन । यो कथा हो, असफलताबाट भाग्ने होइन, त्यसलाई पाठ बनाउने साहसको ।
यो कथा हो, भीडभन्दा फरक हिँड्ने हिम्मतको र निरन्तर मेहनतको । ‘सानो क्रियेटर’ले प्रमाणित गरिदिएको छ, सपना ठूलो हुनैपर्छ भन्ने छैन, सोच फरक भए पुग्छ । सानो प्रयास, सही दिशा र आत्मविश्वास भए गाउँबाटै विश्व जित्न सकिन्छ ।
–रासस
प्रतिक्रिया दिनुहोस