आज: २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026

आयआर्जनको अर्को उपाय, महिलाले लिनथाले पञ्चैबाजा प्रशिक्षण


  • आफ्नै खबर
  • २०८२ पौष १७, बिहिबार मा प्रकाशित २ महिना अघि
  • २५ पाठक संख्या
  • म्याग्दी/  बेनी नगरपालिका-४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी आयआर्जनमा जोड्न ‘परम्परागत पञ्चैबाजा’ सिकाउन थालिएको छ ।

    शिवालय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा वडाका महिला र आमा समूहका प्रतिनिधिहरुलाई पञ्चैबाजा बजाउने तालिम दिन सुरु गरिएको हो । 

    बुधबारदेखि सुरु भएको पञ्चैबाजा प्रशिक्षणमा वडाभित्रका विभिन्न आमा समूह र महिला समूहका प्रतिनिधि सहभागी जनाएका छन् ।

    वडाभित्र पञ्चैबाजा बजाउने समूह नहुँदा विवाह, छेवर, व्रतबन्धलगायत शुभकार्यहरूमा पञ्चैबाजा बजाउनका लागि बाहिरबाट टोली ल्याउनुपर्ने बाध्यता हटाउन र महिलाको आयआर्जन बढाउन पञ्चैबाजा बजाउन सिकाउन थालिएको सिकाइ केन्द्रका अध्यक्ष भरतप्रसाद शर्माले बताउनुभयो ।

    केन्द्रका अध्यक्ष शर्माले भन्नुभयो, ‘हरेक शुभकार्यहरूमा पञ्चैबाजा बजाउने प्रचलन छ । हाम्रो वडामा पञ्चैबाजा बजाउने समूह नहुँदा समस्या छ । त्यसैले प्रशिक्षण सञ्चालन गरेका हौँ ।’ 
    ४५ दिनसम्म सञ्चालन हुने तालिममा पञ्चैबाजा प्रशिक्षक प्रकाश परियार र सतप्रसाद छिनालले व्यावहारिक प्रशिक्षण दिनुहुनेछ ।

    चालु आर्थिक वर्षमा नौमती बाजा संरक्षण तथा सीप विकासका लागि वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाले एक लाख ५० हजार रुपैयाँ र सीप विकास तालिमका लागि गण्डकी प्रदेश सरकारले एक लाख २० हजार रुपैयाँ अनुदान प्रदान गरेको छ । 

    पञ्चैबाजामा सहनाई, ढोलकी, ट्याम्को, दमाहा र झ्याली पर्छन् ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु