१  २०८२ बिहिबार | 15 Jan 2026 Thu

एकै जिल्लामा फल्यो एक अर्ब ३२ करोडको सुन्तला



  • आफ्नै खबर
  •     (२ हप्ता अघि)
  • पाठक संख्या १३३
  • स्याङ्जा/  स्याङ्जाबाट यस वर्ष एक अर्ब ३२ करोड रुपैयाँभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कुल २३ हजार दुई सय ३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सुन्तला थोकमा प्रतिकेजी ५७ रुपैयाँका दरले बिक्री भएको छ ।

    गत वर्षको तुलनामा यस वर्ष २० करोड रुपैयाँ बढी मूल्यको सुन्तला उत्पादन भएको हो । गत वर्ष २० हजार ८४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष गत वर्षको तुलनामा उत्पादकत्वसमेत बढेको छ । यस वर्ष १६.३७ टन प्रतिहेक्टर उत्पादन भएको छ भने गत वर्ष १४.६६ टन प्रतिहेक्टर उत्पादन भएको थियो ।

    स्याङ्जा जिल्लामा उत्पादन भएको कुल परिमाणको सुन्तलामध्ये ९० प्रतिशत बिक्री हुने गरेको छ भने बाँकी रहेको १० प्रतिशत सुन्तला कोसेली, उपहार तथा घरघरमै खपत हुने गरेको उहाँले बताउनुभयो । यस वर्ष उत्पादन भएकामध्ये २० हजार आठ सय ८२ मेट्रिक टन बिक्री योग्य परिमाणको सुन्तला हो ।

    स्याङ्जामा गत वर्षको तुलनामा यस वर्ष सुन्तला बगैँचाले ढाकेको क्षेत्रफलमा वृद्धि भएको छ । गत वर्ष दुई हजार दुई सय ५० हेक्टर क्षेत्रफलमा रहेको सुन्तला बगैँचा यस वर्ष एक सय ५० हेक्टर क्षेत्रफल वृद्धि भई दुई हजार चार सय हेक्टर पुगेको उहाँले जानकारी दिनुभयो ।

    गत वर्ष एक हजार तीन सय ७० हेक्टर उत्पादनशील क्षेत्रफल रहेको थियो । यस वर्ष उत्पादनशील क्षेत्रफल एक हजार चार सय २० हेक्टर रहेको छ । हुर्कंदो बगैँचाको क्षेत्रफलसमेत गत वर्षको तुलनामा यस वर्ष एक सय हेक्टर वृद्धि भएको छ । गत वर्ष आठ सय ८० हेक्टर रहेकामा यस वर्ष नौ सय ८० हेक्टरमा हुर्कंदो सुन्तलाको बगैँचा रहेको छ ।

    आव २०७३/७४ मा स्याङ्जालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ घोषणा गरिएको थियो । आव २०७५/७६ को सुरुआतसँगै स्याङ्जालाई सुपरजोन घोषणा गरिएको थियो । सुन्तलाका क्षेत्रमा सुपरजोन घोषणा भई कार्यान्वयनमा आएसँगै जिल्लामा सुन्तला उत्पादनतर्फ किसान थप आकर्षित भएर लागेका छन् ।

    स्याङ्जामा सुन्तला व्यवसायलाई मुख्य आम्दानीको स्रोतका रूपमा विकास गर्ने पद्धतिको विकास हुँदै गएको छ । जिल्लाका विभिन्न भागमा निर्वाहमुखी र घरायसी प्रयोजनका लागि गरिँदै आएको सुन्तलाखेतीलाई विस्तार गरी व्यवसायिकरण गर्न थालिएको छ । सुन्तलाखेतीलाई प्रमुख आम्दानीको स्रोतका रूपमा विकास गर्नेतर्फ सुन्तला किसानको लहर बढ्दै गएको छ ।

    पाखो, भिरालो जमिन तथा बारीमा अन्य रूख बुट्यानलाई फडानी गरी सुन्तला बगैँचा निर्माण गर्ने र अन्य खाद्यान्न उत्पादन हुने जमिनलाई सदुपयोग गरी सुन्तलाका बोट लगाउनेतर्फ अहिले किसान आकर्षित हुँदै गएका छन् ।

    जिल्लाको पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, विरुवा, अर्जुनचौपारी गाउँपालिका सुन्तला उत्पादनको मुख्य पकेट क्षेत्र हुन् । यहाँका सुन्तला काठमाडौँ, बुटवल, पोखरा, नारायणगढलगायत ठूला सहरमा पुग्ने गरेका छन् । स्याङ्जामा उत्पादन भएको सुन्तला खरिद गर्न सिधै व्यापारी बगैँचामा पुग्ने गरेका छन् ।

    –रासस