
बागलुङ/ स्वास्थ्य सुविधालाई थप सहज बनाउन यहाँका ४९ स्वास्थ्य संस्थालाई लाखौँ मूल्य बराबरका स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
नेपाल गाजा डेभपलपमेन्ट फाउन्डेसन र फेयरमेड फाउन्डेसनको साझेदारीमा सञ्चालित सम्बोधन परियोजनाले जिल्ला सदरमुकामदेखि दूरदराजसम्मका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
परियोजनाले ११ लाख २६ हजार रुपैयाँको स्वास्थ्य सामग्री तथा फर्निचर उपलब्ध गराएको छ । काठेखोलाका तीन स्वास्थ्य संस्थामा दुई लाख ८० हजार रुपैयाँको, निसीखोलाका आठ स्वास्थ्य संस्थालाई एक लाख १९ हजार रुपैयाँको, ढोरपाटनका पाँच स्वास्थ्य संस्थालाई एक लाख २९ हजार रुपैयाँको सामग्री उपलब्ध गराएको हो ।
त्यस्तै, जैमिनी नगरपालिकाका चार वटा स्वास्थ्य संस्थालाई ५४ हजार रुपैयाँको स्वास्थ्य सामग्री र फर्निचर उपलब्ध गराएको परियोजनाका अनुगमन अधिकृत सुजन पौडेलले जानकारी दिनुभयो ।
त्यसैगरी, बडिगाडका गाउँपालिकाका आठ स्वास्थ्य संस्थालाई एक लाख ३२ हजार रुपैयाँ, बागलुङ नगरपालिकाका ६ वटा स्वास्थ्य संस्थालाई एक लाख ९७ हजार रुपैयाँ, गलकोटका दुई स्वास्थ्य संस्थालाई ४७ हजार रुपैयाँको सामग्री सहयोग गरेको हो ।
यसैगरी, ताराखोलाका चार वटा स्वास्थ्य संस्थालाई ६६ हजार रुपैयाँ, तमानखोलाका पाँच वटा स्वास्थ्य संस्थालाई ५९ हजार रुपैयाँ र बरेङ गाउँपालिकाका चार वटा स्वास्थ्य संस्थालाई रु ४४ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री र फर्निचर उपलब्ध गराइएको हो ।
परियोजनाले प्रसूति प्रतीक्षा घरसमेत निर्माण गरिदिएको छ । बिरामीका लागि स्पाइनल बोर्ड, स्ट्रेचर, व्हीलचेयर, पेरिलाइट, इएनटी सेट, कलर बकेट, निडल कटर, सर्जिकल ड्रम, रक्तचाप नाप्ने सेट, टाइमरलगायतका महत्वपूर्ण सामग्रीहरू उपलब्ध गराएको जनाइएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस