आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

बढ्यो विप्रेषण र मुद्रा सञ्चिति


  • आफ्नै खबर
  • २०८२ पौष २५, शुक्रबार २ महिना अघि
  • ४२ पाठक संख्या
  • काठमाडौँ/  चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा चालु खाता र शोधनान्तर बचतमा देखिएको छ भने विप्रेषण र मुद्रा सञ्चिति पनि उल्लेख्य रुपमा बढेको छ । नेपाल राष्ट्र बैङ्कले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै विप्रेषण र मुद्रा सञ्चिति बढेको जनाएको हो । 

    केन्द्रीय बैङ्कका अनुसार अर्थतन्त्रका बाह्य सूचक सुविधाजनक अवस्थामा रहँदा राजस्व सङ्कलन, बजेट खर्च तथा कर्जा विस्तार भने कमजोर देखिएको छ ।

    प्रतिवेदनमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.६३ प्रतिशत रहेको उल्लेख छ । त्यस्तै, यस अवधिसम्ममा कूल विदेशी विनिमय सञ्चिति ३२ खर्ब एक अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।

    अमेरिकी डलरमा उक्त सञ्चिति २२ अर्ब १३ करोड पुगेको छ । यस्तो सञ्चितिले १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

    समीक्षा अवधिमा चालु खाता तीन खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँ र शोधनान्तर स्थिति चार खर्ब २१ अर्ब ८९ करोड रुपैयाँ बचतमा रहेको छ ।

    पछिल्लो पाँच महिनामा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३५.६ प्रतिशतले र अमेरिकी डलरमा २९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको मङ्सिर महिनासम्मको कूल विप्रेषण आप्रवाह आठ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ भने मङ्सिर महिनामा मात्र एक खर्ब ८३ अर्ब १८ करोड विप्रेषण  भित्रिएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार पछिल्लो पाँच महिनामा निर्यात ५८.२ प्रतिशतले र आयात १५.८ प्रतिशतले बढेको छ ।

    यो अवधिमा नेपाल सरकारको खर्च पाँच खर्ब ६४ अर्ब ४६ करोड रुपैयाँ र राजस्व परिचालन चार खर्ब ६ अर्ब ३० करोड रुपैयाँ रहेको छ । विस्तृत मुद्राप्रदाय ३.७ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.९ प्रतिशतले बढेको हो ।

    प्रतिवेदनअनुसार बैङ्क तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ नौ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.६ प्रतिशत रहेको छ । 

    त्यसैगरी, बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तर बैङ्क दर २.७४ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३७ प्रतिशत रहेको छ ।

    वाणिज्य बैङ्कहरूको निक्षेपको भारित औसत ब्याजदर ३.६६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.२६ प्रतिशत रहेको छ ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु