आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

चिसोका कारण दुर्गम दुई गाउँको निर्वाचन जिल्ला सदरमुकाममै


  • आफ्नै खबर
  • २०८२ पौष २६, शनिबार २ महिना अघि
  • ४३ पाठक संख्या
  • दार्चुला/  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यास गाउँपालिका-१ छाङरु र तिङ्कर गाउँका मतदाताले सदरमुकाम खलङ्गामा मतदान गर्नुपर्ने भएको छ । गत मङ्सिरमा यहाँका दुवै गाउँका स्थानीय बसाइसराइ (कुञ्चा) सरेर खलङ्गा आएका कारण निर्वाचन खलङ्गा मै हुने भएको हो । 

    २०७९ सालको स्थानीय तह निर्वाचन छाङ्गरु र तिङ्करकै मतदान केन्द्रमा भएको थियो । यसपटक स्थानीयको बसाइ सरेको कारण दुवै मतदान केन्द्र खलङ्गा मै कायम गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो । यहाँको वडामा दुई वटा मतदान केन्द्र कायम छ ।

    जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकारी प्रदीपसिंह धामीका अनुसार कैलाशपति आधारभूत विद्यालय छाङरुमा तीन सय ७५ जना र मोतिमहिला सङ्घ आधारभूत विद्यालय तिङ्कर केन्द्रमा दुई सय ४४ जना मतदाता छन् ।

    २०७९ सालमा भएको स्थानीय तह प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा छाङरुको मतदान केन्द्रमा तीन सय ८३ र तिङ्करमा दुई सय ३४ जना मतदाता थिए । यसैगरी प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि दार्चुलामा एक सय १२ मतदानस्थल र एक सय ४३ मतदान केन्द्र तोकिएका छन् ।

    जिल्लामा रहेका १४३ मतदान केन्द्रमध्ये २२ अति संवेदनशील, ४१ संवेदनशील र ७८ सामान्य सूचीमा राखेर विभाजन गरिएको जिल्ला सुरक्षा समिति प्रमुख एवं प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

    यसपटक भौगोलिक दुर्गमता, विगतका निर्वाचन अनुभव, सुरक्षा निकायको पहुँचलगायतलाई आधार मानेर वर्गीकरण गरिएको उहाँको भनाइ छ ।

    -रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु