१  २०८२ बिहिबार | 15 Jan 2026 Thu

चन्दा र श्रमदानबाटै बन्यो दृष्यावलोकन केन्द्र



  • आफ्नै खबर
  • २८  २०८२ सोमबार (३ दिन अघि)
  • पाठक संख्या १८३
  • म्याग्दी/  अन्नपूर्ण गाउँपालिका-६ घारको देउरालीमा स्थानीयवासीले सरकारी निकायको सहयोगबिनै दृष्यावलोकन केन्द्र निर्माण गरेका छन् । 

    भुवानी युवा परिवारले दुई वर्षअघि दिवङ्गत हुनुभएका संस्थापक सदस्य स्व. कृष्णप्रसाद बरुवालको स्मृतिमा दृष्यावलोकनस्थल निर्माण गरेका हुन् । श्रमदान बाहेक करिब दुई लाख रुपैयाँ सहयोग जुटाएर देउरालीडाँडा पुग्ने पदमार्ग, रेलिङ, विश्रामस्थल निर्माण र सूचनापाटी स्थापना गरेको परिवारका अगुवा श्यामप्रसाद खड्काले बताउनुभयो । 

    ‘देउरालीलाई पर्यटकीयस्थलको रुपमा विकास गर्नका लागि संस्थाका संस्थापक बरुवालको स्मृतिमा पूर्वाधार निर्माण गरेका हौँ’, उहाँले भन्नुभयो, ‘पहाडको टुप्पोमा रहेको देउरालीमा पदमार्ग र रेलिङ तथा आराम गरेर दृष्यावलोकन गर्ने व्यवस्था मिलाएपछि पर्यटकलाई सहजका साथै सुरक्षित भएको छ ।’

    भवानी युवा परिवारले एक लाख २० हजार रुपैयाँसहित एक लाख ८५ हजार पाँच सय रुपैयाँ सहयोग जुटेको थियो । पाँच जनाले श्रमदानमा सहभागीलाई करिब १३ हजार रुपैयाँ बराबरको खाजा खुवाएका थिए । ३५ जनाले सरदर दुई दिनका दरले श्रमदान गरेका थिए । सबैभन्दा बढी नौ दिन श्रमदान गर्नुभएका खड्काले थप तीन हजार रुपैयाँ बराबरको गिट्टी र बालुवा सहयोग गर्नुभयो । 
    समुद्री सतहदेखि एक हजार सात सय ८४ मिटर उचाइमा रहेको देउरालीबाट निलगिरी र अन्नपूर्ण हिमशृङ्खला, पहाडी भूगोल, ग्रामीण बस्ती, नागबेली परेर बगेको कालीगण्डकी नदीको दृष्यावलोकन गर्न सकिन्छ ।

    घार, शिख, पाउद्वार, भुरुङ–तातोपानी, दाना, नारच्याङ गाउँ अवलोकन गर्न सकिने देउराली शान्त र एकान्त छ । 

    पोखरेबगर-चित्रे सडक विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको प्रमुख पर्यटकीयस्थल घोडेपानी जोडिन्छ । घोडेपानी घुम्न आउने पर्यटकको बसाइ लम्बाउन र स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउन देउरालीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गराउन पहल गरिएको अन्नपूर्ण-६ का वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

    –रासस