१  २०८२ बिहिबार | 15 Jan 2026 Thu

सामुदायिक वन बन्दैछ पर्यटकीय केन्द्र



  • आफ्नै खबर
  • २९  २०८२ मंगलबार (२ दिन अघि)
  • पाठक संख्या १०१
  • कञ्चनपुर/  कृष्णपुर नगरपालिका-२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन संरक्षण र पर्यटन प्रवर्द्धनको सङ्गमस्थलका रूपमा विकास हुँदै गएको छ । वन संरक्षणलाई प्राथमिकतामा राख्दै यहाँ आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विभिन्न पूर्वाधार निर्माण र सौन्दर्यकरणका काम सञ्चालन भइरहेका छन् ।

    सामुदायिक वनको कार्यालय परिसर तथा वनभित्र रहेका प्राकृतिक तालहरूलाई रङ्गिबिरङ्गी झन्डाले सजाइएको छ । यसले हरियाली वनसँगै तालहरूको प्राकृतिक सौन्दर्य अझै बढेको छ ।

    सामुदायिक वनका अध्यक्ष गोपाल भारतीका अनुसार करिब तीन हजार ६ सय मिटर क्षेत्र झन्डाले सजाइएको छ । ‘वन र ताल अवलोकन गर्न आउने पर्यटकको सहजताका लागि बस्न मिल्ने बेन्च तथा खरले छाएका ससाना आश्रयस्थल निर्माण गरेका छौँ’, अध्यक्ष भारतीले भन्नुभयो, ‘त्रिकेश्वर महादेव तालको वरिपरि २० र झरना तालको वरिपरि १० आश्रयस्थल निर्माण गर्ने योजना छ ।’

    उहाँका अनुसार हालसम्म ११ आश्रयस्थल निर्माण सम्पन्न भइसकेका छनभने २० बेन्च राखिएका छन् । थप ३० बेन्च निर्माण भइरहेको छ । सामुदायिक बनभित्र रहेका दुवै तालमा डुङ्गा सञ्चालनको तयारी गरिएको छ ।

    ‘दुवै तालमा दुई-दुईवटा डुङ्गा सञ्चालन गर्ने तयारी गरेका छौँ’, अध्यक्ष भारतीले भन्नुभयो, ‘डुङ्गा माग गरिसकेका छौँ । यसबाट पर्यटकहरूले डुङ्गा शयर गर्दै प्राकृतिक आनन्द लिन सक्नेछन् ।’

    त्यसैगरी, बालबालिका, युवापुस्ता र वयस्कलाई लक्षित गर्दै सामुदायिक बनभित्र झुला राख्ने तयारी पनि भइरहेको छ । झुला खरिदका लागि विभिन्न सङ्घसंस्थासँग सहकार्य भइरहेको अध्यक्ष भारतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘लुम्बिनी विकास बैङ्कसँग सहकार्य गरेर तीनवटा झुला राख्ने योजना छ ।’

    सामुदायिक वनको कार्यालय परिसरमा गोलघर निर्माण भइसकेको छभने प्रवेशद्वार (गेट) निर्माणको कार्य अगाडि बढाइएको छ । पिकनिक स्पट निर्माणको कामसमेत सुरु भइसकेको र माघ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको अध्यक्ष भारतीले बताउनुभयो ।

    पर्यटन प्रवर्द्धनसँगै वन संरक्षणका गतिविधि पनि निरन्तर रूपमा सञ्चालन भइरहेको सामुदायिक वनका उपाध्यक्ष प्रकाशनाथ योगीले बताउनुभयो । उहाँका अनुसार बनभित्र विभिन्न प्रजातिका बिरुवाको नर्सरी निर्माण गरिएको छ ।

    उपाध्यक्ष योगीले भन्नुभयो, ‘बाँसको नर्सरी निर्माण गरी बिरुवा रोपिसकेका छौँ भने विजयसाल र रक्तचन्दनको नर्सरी निर्माण भइरहेको छ ।’

    सामुदायिक वनले उपभोक्तालाई आयआर्जनसँग जोड्ने उद्देश्यले विभिन्न कार्यक्रम पनि अघि सारेको छ । त्यसका लागि सालको टपरी तथा विजयसालका भाँडा बनाउने उपकरण समेत खरिद गरिएको छ ।  यसबाट स्थानीय उपभोक्ताको आम्दानी वृद्धि हुनाका साथै वन संरक्षणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

    वन संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगसँगै अघि बढाउँदै ग्वलाबारी सामुदायिक वनलाई आन्तरिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको सामुदायिक वन समितिले जनाएको छ ।

    –रासस