भोजपुर/ महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ गाउँपालिका-१ तिम्माका महिलालाई व्यावसायिक तरकारी खेतीसम्बन्धी पाँचदिने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्दै महिलाको आयआर्जन बढाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको हो ।
परम्परागत कृषि प्रणालीलाई व्यवसायिक र आधुनिक ढाँचामा रूपान्तरण गर्ने उद्देश्यले तालिम केन्द्रित गरिएको आयोजकले जनाएको छ ।
तालिममा सहभागी महिलालाई मौसमअनुसार उपयुक्त तरकारी छनोट, उन्नत खेती प्रविधि, प्लास्टिक टनेल निर्माण तथा टनेलभित्र तरकारी उत्पादन, जैविक मल तथा जैविक विषादी बनाउने तरिका, बीउ-बिजनको ब्याड तयारी, सिँचाइ व्यवस्थापन तथा रोग-किरा नियन्त्रणसम्बन्धी व्यावहारिक सीप प्रदान गरिएको छ ।
वडाअध्यक्ष नरबहादुर राईका अनुसार महिलालाई सीपमूलक तालिममार्फत उद्यमसँग जोड्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो । उहाँले तालिममा सहभागी २५ जना महिलालाई आवश्यक बीउ-बिजनसँगै ८५ प्रतिशत अनुदानमा एक-एक थान प्लास्टिक टनेल वितरण गरिएको जानकारी दिनुभयो ।
‘महिलालाई कृषि उद्यममा जोड्ने उद्देश्यले व्यावसायिक तरकारीखेती तालिम दिएका हौँ’, वडाअध्यक्ष राईले भन्नुभयो, ‘तालिमपछि महिलाले आफ्नै खेतबारीमा व्यावसायिक तरकारीखेती गरी नियमित आम्दानी लिन सक्नेछन् भन्ने हाम्रो विश्वास छ ।’
तालिममा सहभागी महिलाले सिकेका सीप व्यवहारमा उतार्दै सामूहिक तथा व्यक्तिगत रूपमा व्यावसायिक तरकारीखेती गर्ने बताएका छन् । यसबाट बाहिरबाट आयात हुने तरकारीमा निर्भरता घट्नुका साथै स्थानीय बजारमा ताजा र गुणस्तरीय तरकारीको आपूर्ति बढ्ने उनीहरूको भनाइ छ ।
सहभागी महिलाहरूले आगामी दिनमा उत्पादन भएका तरकारीको बजारीकरण, निरन्तर प्राविधिक सहयोग तथा थप अनुदान कार्यक्रम आवश्यक रहेको बताएका छन् ।
यस्ता सीपमूलक तालिमले महिलाको आर्थिक सशक्तीकरणसँगै गाउँको समग्र आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । टेम्केमैयुङ गाउँपालिकाको महिला लक्षित कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको हो ।
–रासस
प्रतिक्रिया दिनुहोस