
काठमाडौँ/ वीर अस्पतालमा आकस्मिक कक्षमा (शैय्या) विस्तार गरिएको छ ।
अस्पतालका निर्देशक डा. दिलीप शर्माले बिरामीको चापलाई ध्यानमा राखेर आकस्मिक कक्षमा २५ वटा शैय्या विस्तार गरिएको जानकारी दिनुभयो । यसअघि तीस आकस्मिक कक्षबाट अस्पताल सञ्चालनमा थियो ।
‘अस्पतालमा एउटै कक्षमा दुई दुई बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता थियो’, उहाँले भन्नुभयो, ‘बिरामीको उपचारलाई ध्यान दिएर हामीले शैय्या थप गरेका हौँ । अझै २० शैय्या चाँडै नै विस्तार हुने छ ।’
उक्त आकस्मिक कक्षमा बिरामीका कुरुवालाई खाना पकाउने व्यवस्था समेत गरिएको छ । अस्पतालका निर्देशक डा. शर्माका अनुसार उक्त आकस्मिक कक्ष स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अस्पतालको आन्तरिक स्रोतबाट सात करोड रुपैयाँको लागतमा निर्माण गरिएको हो ।
अस्पतालमा अहिले दैनिक तीन हजारभन्दा बढी बिरामी उपचार गर्न आउने गरेका छन् । दैनिक ७० देखि ८० साना ठूला शल्यक्रिया गर्ने गरिएको छ । अस्पतालमा हाल आठ सय ५० शैय्या र एक सय १० सघन उपचार शैय्या (आइसियु) रहेका छन् ।
प्रतिक्रिया दिनुहोस