आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव सुरु


  • आफ्नै खबर
  • २०८२ माघ ७, बुधबार मा प्रकाशित ३ हफ्ता अघि
  • ४ पाठक संख्या
  • झापा/  औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव-२०८२ आजदेखि जिल्ला सदरमुकाम चन्द्रगढीस्थित मेची रङ्गशालामा सुरु भएको छ । झापा उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि सुरु भएको महोत्सव यही माघ २१ गतेसम्म सञ्चालन हुनेछ ।

    सङ्घका कार्यवाहक अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार राईले यहाँको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार उद्योग, व्यापार, कृषि, पशुपछी, शिक्षा, स्वास्थ्य तथा पर्यटन क्षेत्रको प्रवर्द्धन गर्दै आन्तरिक बजार सबलीकरण, व्यावसायिक उत्थान र निकासीयोग्य वस्तुमा जोड दिन महोत्सव आयोजना गरिएको हो । महोत्सवमा एक सय ३० वटा स्टल (कक्ष) निर्माण गरिएका संयोजक राईले जानकारी दिनुभयो ।

    उहाँका अनुसार ती स्टलमा स्थानीय कृषि उत्पादन, हस्तकलाका सामग्री, विभिन्न कम्पनीका अटोमोबाइल, कृषि औजार, बिउबिजन, मलखाद, जडीबुटी, पर्यटन तथा शैक्षिक संस्था, छाला तथा गार्मेन्ट सामग्री, जुत्ता-चप्पल, गलैँचा तथा पस्मिना, सौर्य ऊर्जा, जलविद्युत्, सूचना प्रविधि, घरजग्गा तथा निर्माण सामग्री, बैङ्क तथा वित्तीय संस्था, फर्निचर तथा दैनिक उपभोग्य वस्तुको प्रदर्शनी तथा कारोबार हुनेछ । 

    महोत्सवलाई थप आकर्षक बनाउन ‘सेल्फीजोन’, मनोरञ्जनात्मक खेल तमासा, स्थानीय तथा राष्ट्रियस्तरका साङ्गीतिक र हास्यव्यङ्ग्य कार्यक्रम, स्थानीय गीत तथा नृत्य, सांस्कृतिक प्रस्तुति, बालउद्यान तथा विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनको व्यवस्था गरिएको संयोजक राईले बताउनुभयो । महोत्सव अवधिमा विभिन्न खेलकुद कार्यक्रमसमेत आयोजना गरिनेछ ।

    महोत्सवमा कम्तीमा १० करोड रुपैयाँबराबरको कारोबार र एक लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता हुने अनुमान रहेको उहाँले बताउनुभयो । महोत्सव सफल बनाउन विभिन्न नौ वटा उपसमिति गठन गरी व्यवस्थापन, सुरक्षा, प्रचारप्रसार तथा अनुगमनको काम भइरहेको सङ्घले जनाएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु