२१  २०८२ बुधबार | 04 Feb 2026 Wed

स्वास्थ्य संस्थालाई बीमाको पैसा तिर्न बोर्ड तयार



  • आफ्नै खबर
  • १२  २०८२ सोमबार (१ हप्ता अघि)
  • पाठक संख्या २५९
  • काठमाडौँ/  स्वास्थ्य बीमा बोर्ड स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बीमा बापत पाउनुपर्ने रकम भुक्तानी दिन तयार भएको छ । बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको मापदण्डबमोजिम कागजातसहित दाबी प्रविष्ट गर्न अनुरोध गरेको छ । 

    बोर्डले जथाभावी रूपमा मापदण्ड विपरीत स्वास्थ्य बीमाबापतको भुक्तानी दाबी गरेपछि स्वास्थ्य संस्थालाई एक समिति बनाई दाबीको पुनरावलोकन गर्न आग्रह गरेको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिनुभयो । 

    ‘स्वास्थ्य बीमा गरे बापतको दाबीसहित हामीले पठाएको विवरणमा धेरै नै त्रुटि हुने गर्दछन्’, उहाँले भन्नुभयो, ‘स्वास्थ्य संस्थाले गर्ने दाबी बापतको रकमलाई पुनः एकपटक त्यही स्वास्थ्य संस्थामा पुनरावलोकन गर्नका लागि समिति बनाउनु आग्रह गरेको हौँ ।’

    उहाँले स्वास्थ्य बीमा रियल टाइम दाबी गर्नेसम्बन्धी कार्यविधि-२०८० अनुसार दाबी रुजु तथा मूल्याङ्कन प्रक्रियालाई थप सहज बनाई सेवा प्रदायक स्वास्थ्य संस्थाका दाबीमा हुने अस्वीकृत दर घटाउनका लागि सम्बन्धित स्वास्थ्य संस्थाले पुनरावलोकन समिति बनाउन आवश्यक रहेको बताउनुभयो । 

    बोर्डले स्वास्थ्य संस्थाबाट दाबी प्रविष्ट गर्नुपूर्व समितिले नै दाबीउपर पुनरावलोकन तथा रुजु गरी त्यसपश्चात् मात्र बोर्डको मापदण्डबमोजिम कागजात सहितको दाबी प्रविष्ट गर्न अनुरोध गरेको छ ।

    बोर्डले तोकिएको मापदण्डअनुसार प्राप्त नभएका स्वास्थ्य बीमा गरे बापतको दाबीको भुक्तानी नगर्ने सूचना अधिकारी मल्लले बताउनुभयो ।

    उहाँका अनुसार स्वास्थ्य बीमा बोर्डमा एक दिनमा १० करोड रुपैयाँबराबरको रकम स्वास्थ्य संस्थाहरूले भुक्तानीका लागि दाबी पेस गर्ने गरेका छन् । अहिलेसम्म करिब १२ अर्ब रुपैयाँ स्वास्थ्य बीमाबापत ती स्वास्थ्य संस्थालाई बोर्डले भुक्तानी गर्न बाँकी रहेको छ ।

    –रासस