१४  २०८२ बुधबार | 28 Jan 2026 Wed

कालिज पालेरै महिनाको एक लाख 



  • आफ्नै खबर
  • १३  २०८२ मंगलबार (१ दिन अघि)
  • पाठक संख्या १९५
  • नवलपरासी पूर्व/  साउदी अरबमा ११ वर्ष काम गरेर फर्किनु भएका गैँडाकोटका एक युवाले घरमै कालिजपालन गरेर मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । 

    गैँडाकोट नगरपालिका-६ का प्रेमप्रसाद सापकोटाले साउदीबाट फर्किएपछि कालिजपालन सुरु गर्नुभएको हो । ६ वर्षअघि नेपाल फर्किएर करिब एक कट्ठा जमिनमा उहाँले कालिजपालन सुरु गर्नुभएको थियो । १३ लाख रुपैयाँ लागतमा उहाँले व्यवसाय सुरु गर्नुभएको थियो ।

    सुरुमा प्रतिगोटा दुई हजार रुपैयाँमा अण्डा किनेर आफ्नै मेसिनबाट कोरलेर पालन गर्नुभएका सापकोटाले हाल आफैँ चल्ला बिक्री गर्नुहुन्छ । एउटा चल्ला दुई सय रुपैयाँमा बिक्री हुने गरेको छ भने वार्षिक करिब १० हजार चल्ला बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

    पूर्वको झापादेखि पश्चिमको धनगढीसम्म चल्ला बिक्री हुने गरेको छ । पालिएका माउ कालिज प्रतिगोटा दुई हजारदेखि तीन हजार रुपैयाँसम्ममा बिक्री हुन्छन् । मासुका लागि पनि उहाँको फार्मबाट कालिज बिक्री हुने गर्दछ । खानाका सौखिनहरूले फार्ममै आएर कालिज लैजाने गर्दछन् । वार्षिक पाँच सयभन्दा बढी कालिज मासुका लागि बिक्री हुने गरेको छ ।

    चल्ला र माउ बिक्रीबाट राम्रो आम्दानी हुने गरेको छ । घरकै उत्पादन गहुँ, मकै, घाँस र थोरै किनिएको दाना कालिजलाई खुवाउने गरिएको छ । सापकोटा बिहान-बेलुका कालिजलाई खाना दिनुहुन्छ भने दिउँसो अन्य काममा लाग्नुहुन्छ । घर परिवारले व्यवसायमा सहयोग गर्दै आएका छन् ।

    सापकोटाले भन्नुभयो, ‘साउदीमा जति कमाई गरेँ, गाउँमै कालिजपालनबाट हुने आम्दानी त्यसभन्दा राम्रो छ । यसले मलाई छुट्टै काम गर्ने अवसर पनि दिएको छ र मेहनत गरे विदेशमा भन्दा बढी लाभ देशमै लिन सकिन्छ ।’

    –रासस