२१  २०८२ बुधबार | 04 Feb 2026 Wed

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले क्यान्सरको उपचार सुरु गर्ने



  • आफ्नै खबर
  •     (३ दिन अघि)
  • पाठक संख्या ७०
  • दाङ/  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने भएको छ । क्यान्सर उपचार सुरु गर्ने सम्बन्धमा प्रतिष्ठान र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौता भएको हो । 

    प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. श्याम लम्साल र बिपी क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलबीच क्यान्सर उपचारको सेवा विस्तार गरी आवश्यक जनशक्ति आदानप्रदान गर्ने विषयमा सम्झौता भएको प्रतिष्ठान प्रशासनले जनाएको छ । 

    प्रतिष्ठानका निमित्त डीन प्राडा रमेश कँडेल र क्यान्सर अस्पतालका सहनिर्देशक डा. उमेश नेपालको रोहबरमा उक्त सम्झौता भएको हो । यहाँ क्यान्सरसम्बन्धी उपचारको व्यवस्था नहुँदा यसअघि साविक राप्ती अञ्चलसहित पश्चिम नेपालका नागरिकमा चितवन, काठमाडौँलगायत सहरमा महँगो शुल्क तिरेर उपचार गराउन जानुपर्ने बाध्यता थियो । 

    सम्झौता कार्यान्वयनमा आएपछि साविक राप्ती अञ्चल तथा पश्चिम नेपालका नागरिक लाभान्वित हुनुका साथै यस क्षेत्रमा सेवा विस्तारका लागि थप सहयोग पुग्ने प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. लम्सालले विश्वास व्यक्त गर्नुभयो । क्यान्सर पीडितले स्थानीय क्षेत्रमा उपचार सेवा पाउने भएपछि समय र खर्चको बचत हुने उहाँले बताउनुभयो ।