२१  २०८२ बुधबार | 04 Feb 2026 Wed

हराएको ५५ वर्षमा घर फर्किएपछि...



  • आफ्नै खबर
  •     (११ घण्टा अघि)
  • पाठक संख्या १५४
  • म्याग्दी/  धौलागिरि गाउँपालिका-५ मल्कबाङका धनबहादुर तुलाचनको हराएको ५५ वर्षपछि परिवारसँग पुनर्मिलन भएको छ । 

    २१ वर्षको उमेरमा लाहुरे हुने भन्दै घर छोडेर बेपत्ता हुनुभएका तुलाचन अहिले परिवारको सम्पर्कमा आउनुभएको छ । भारतको हिमाञ्चल प्रदेशको कुल्लु मनाली भन्ने ठाउँमा स्याउ बगैँचामा काम गर्ने तुलाचन एकसाता अगाडि विभिन्न माध्यमबाट परिवारको सम्पर्कमा आएको उहाँका साहिँला दाइ कृष्णप्रसाद तुलाचनले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘हामी अहिले मङ्गला गाउँपालिका-५ पाखुमा बस्दै आएका छौँ । लाहुरे हुने भनेर गएको भाइ घर आउने आश नै मारेका थियौँ । बूढेसकालमा हामीलाई खोजी गर्दै विभिन्न माध्यमबाट घर खोज्दै घरमा आएपछि हामीलाई सपनाजस्तै लागेको छ ।’

    कतै नभेटिएपछि परिवारले नै माया मारिसकेको अवस्थामा धनबहादुर घर फर्किएपछि परिवारमा खुशियाली छाएको छ ।

    धनबहादुरलाई दाइ कृष्णप्रसाद नागरिकता बनाउन आवश्यक प्रक्रियाका लागि सदरमुकाम बेनी आउनुभएको छ । तत्कालीन समयमा मल्कबाङबाट ठाडाखानी हुँदै बेनी आएर पैदलयात्रा र सवारीसाधनको प्रयोग गरी भारत पुगेको धनबहादुरको भनाइ छ ।

    भारत पुगेपछि एउटा खुट्टामा चोट लागेर लामो समय आराम गर्नुपरेको र घर फर्किने अवस्था नबनेको धनबहादुरले बताउनुभयो ।

    –रासस