२१  २०८२ बुधबार | 04 Feb 2026 Wed

मुस्ताङमा आए पहिलाभन्दा दोब्बर पर्यटक



  • आफ्नै खबर
  •     (१६ घण्टा अघि)
  • पाठक संख्या ६८
  • मुस्ताङ/  मुस्ताङमा प्रतिकूल चिसो याममा समेत पर्यटकको सङ्ख्या वृद्धि भएको छ । विगतका वर्षभन्दा यस वर्षको जनवरी पहिलो महिनामै यहाँ पर्यटकीय उभार आएको हो ।

    मुस्ताङस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार चालु वर्षको सन् २०२६ को जनवरीमा १० हजार आठ सय २२ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । एक्याप प्रमुख राजेश गुप्तका अनुसार यहाँ जनवरी पहिलो महिनामा सार्क राष्ट्रबाट १० हजार ४५ र अन्य विदेशी पर्यटक सात सय ७७ जना मुस्ताङ भित्रिएका हुन् ।

    यसअघि सन् २०२५ को जनवरी महिनामा चार हजार तीन सय ४६ विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्याप जोमसोम कार्यालयको पर्यटकीय तथ्याङ्कमा उल्लेख छ । सन् २०२५ को जनवरीमा भन्दा सन् २०२६ को जनवरीमा ६ हजार चार सय ७६ ले वृद्धि भएको एक्याप जोमसोमका कार्यालय प्रमुख गुप्तको भनाइ छ ।

    सन् २०२५ को जनवरी पहिलो महिनामा सार्क राष्ट्रबाट तीन हजार आठ सय ३० र अन्य विदेशी पर्यटकको सङ्ख्या पाँच सय १६ रहेको थियो । एक्यापका अनुसार सन् २०२५ को जनवरीभन्दा सन् २०२६ को जनवरीमा सार्क राष्ट्रतर्फ ६ हजार दुई सय १५ जना र अन्य राष्ट्रका पर्यटक दुई सय ६१ जनाले वृद्धि भएको हो ।

    सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्ममा एक लाख ६१ हजार एक सय ४२ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । विशेषगरी मुक्तिनाथ दर्शनका लागि भारतीय पर्यटकको आगमन सङ्ख्या उल्लेख्य वृद्धि भएको कार्यालय प्रमुख गुप्तले बताउनुभयो ।

    राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकमार्ग बर्सेनि सहज बन्दै जान थालेकाले विदेशी पर्यटकको सङ्ख्या अप्रत्याशित रुपमा वृद्धि हुँदै जान थालेको प्रमुख गुप्तको भनाइ छ । यहाँ सन् २०२६ मा दुई लाख विदेशी पर्यटक भित्रिने अनुमान रहेको एक्यापको ठम्याइ छ ।

    मुस्ताङमा हिउँदयामको प्रतिकूल मौसमका बाबजुद पर्यटकको सङ्ख्या वृद्धि हुँदै जान थालेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएको पाइएको छ । मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले पर्यटकीय अफसिजनको समयमा समेत विदेशी पर्यटकको आगमन बढेकाले यहाँ पर्यटन व्यवसायीलाई आशा जगाएको बताउनुभयो । 

    विगतका वर्षहरूमा पर्यटक अफसिजनका कारण बन्द हुने मुस्ताङका होटल सञ्चालनमा छन् । मुस्ताङमा सडकको विकाससँगै बाह्रै महिना पर्यटकको आगमन भइरहेकाले यहाँ व्यवसायीहरूलाई मौसम प्रतिकूलताले असर नपारेको अध्यक्ष गुरुङले बताउनुभयो ।

    पुस लागेसँगै यहाँको मौसमी तापक्रम माथिल्लो मुस्ताङमा २० डिग्री र तल्लो मुस्ताङमा माइनस १२ सम्म झर्ने गरेको छ । चिसोका कारण यहाँको स्थानीय जनजीवन आंशिक रुपमा प्रभावित रहे पनि पर्यटकको आगमनमा चिसोले बाधा पुगेको छैन ।

    –रासस