म्याग्दी/ सदरमुकाम बेनीदेखि भारतको दिल्ली बस सेवा सुरुआत भएको छ । मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले आजदेखि बेनी कालीपुल बसपार्कबाट स्याङ्जा, वालिङ, भैरहवा, अयोध्या, आगरा हुँदै नयाँ दिल्लीसम्मको यात्रा गर्न सकिने बस सेवा सञ्चालनमा ल्याएको हो ।
बस सेवाको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शुभारम्भ गर्नुभयो । म्याग्दी, मुस्ताङको धार्मिकस्थललाई भारतसँग जोड्न त्यहाँका पर्यटकलाई समेत भित्र्याउन सेवाले महत्वपूर्ण भूमिका खेल्ने मोडर्न इरा टुर्स एन्ड ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
‘बेनीदेखि दिल्लीसम्म २७ घण्टामा यात्रा गर्न सकिन्छ’, उहाँले भन्नुभयो, ‘बेनीदेखि हरेक दिन बिहान ६ः४५ बजे र दिल्लीको सरोजनी नगरबाट साँझ ४ः०० बजे बस छुट्नेछ ।’ बेनीबाट नयाँ दिल्लीसम्मको प्रतियात्रु शुल्क पाँच हजार चार सय रुपैयाँ र नयाँ दिल्लीबाट तीन हजार दुई सय रुपैयाँ भारु भाडादर कायम भएको छ ।
बसको क्षमता ४५ जनाको रहेको छ । बेनी-दिल्लीको दूरी एक हजार चार सय किलोमिटर छ । यस सेवाबाट म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका सर्वसाधारण लाभान्वित हुनेछन् ।
यसअघि म्याग्दीबाट भारत जान पोखरा पुगेर गाडी चढ्नुपर्ने समस्या थियो । एक दिनअघिनै पोखरा पुगेर बास बसी भोलिपल्ट बस चढेर दिल्ली जानुपर्ने समस्या हटेको मङ्गला गाउँपालिका-१ भरजुलाका सुसन किसानले बताउनुभयो ।
बेनी नगरपालिकाका प्रमुख केसीले दिल्लीसँग म्याग्दीको यातायात सम्पर्क स्थापना भएपछि पर्यटक विकासमा पनि सहयोग पुग्ने बताउनुभयो । म्याग्दीको गलेश्वरधाम, पुलह आश्रमकासाथै मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने भारतीय पर्यटकलाई बस सेवाबाट सहज हुने नगर प्रमुख केसीले बताउनुभयो ।
सृष्टि यातायात प्रालिका अध्यक्ष कृष्णप्रसाद पौडेलले नेपाल-भारत मैत्री बस सेवा कार्यक्रमअन्तर्गत दिल्लीदेखि कालीगण्डकी कोरिडोरको सडक भएर म्याग्दी हुँदै चीनको सिमानामा रहेको कोरला नाकासम्म यातायात सञ्चालनका लागि पहल गरिएको बताउनुभयो ।
मुस्ताङको मुक्तिनाथ मन्दिरमा वार्षिक एक लाख जनाभन्दा बढी भारतीय दर्शनका लागि आउने गरेका छन् । म्याग्दीबाट रोजगार, शिक्षा, उपचारसहित अन्य विभिन्न कामले भारत जाने यात्रुलाई भारतीय क्षेत्रमा रेलमा लाग्नेभन्दा निकै सस्तो भाडा, लुटिने जोखिमसमेत कम हुने यातायात व्यवसायी ऐनबहादुर शाहीले बताउनुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस