२३  २०८२ शुक्रबार | 06 Feb 2026 Fri

‘उँधौली र उँभौली साकेला’ को कलात्मक प्रस्तुती 



  • आफ्नै खबर
  •     (१६ घण्टा अघि)
  • पाठक संख्या ४५
  • काठमाडौँ/  गायिका मेनुका राई र गायक राई नविनको संयुक्त स्वरमा तयार गरिएको नयाँ ‘उँधौली र उँभौली साकेला’ गीत सार्वजनिक भएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द र राई नविनको सङ्गीतमा तयार भएको उक्त गीतले किरात समुदायको मौलिक संस्कृति र परम्परालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ ।

    गीतको विषयवस्तु किरात समुदायको महत्वपूर्ण चाड ‘उँधौली र उँभौली’ सँग जोडिएको छ । उँधौली र उँभौली किरात समुदायले प्रकृति, भूमि र पुर्खाप्रति आस्था व्यक्त गर्दै मनाउने सांस्कृतिक विशेषतालाई गीतमा चित्रण गरिएको छ ।

    नयाँ खेतीपाती सुरु हुनु अघि प्रकृति र देवतासँग समृद्धिको कामना गर्ने गरिन्छ । यी पर्वहरूमा साकेला नृत्य, मौलिक भेषभूषा र परम्परागत बाजागाजाको विशेष महत्वलाई गीतमा व्यक्त गरिएको छ ।

    गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गर्नु भएको छ । ‘स्टुडियो किङ’ मा रेकर्ड गरिएको गीतको रेकर्डिङ सुरेश पायल राईले गर्नुभएको छ भने गीतको निर्माता बिना राई रहनुभएको छ ।

    गीतसँगै सार्वजनिक गरिएको भिडियोले पनि उँधौली-उँभौली सांस्कृतिक भाव, सामूहिक नृत्य र जीवनशैलीलाई जीवन्त रूपमा उतारेको छ। भिडियो निर्देशन धन खालिङले गर्नुभएको हो भने जस्केलो क्रिएशनले निर्माण गरेको हो ।

    मौलिक संस्कृति, सशक्त शब्द र सुमधुर सङ्गीतको संयोजनले गीतलाई विशेष बनाएको संगीतकर्मीहरूको भनाइ छ । सार्वजनिक भएसँगै गीतले श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ ।