२४  २०८२ शनिबार | 07 Feb 2026 Sat

भेरी अस्पतालमा सुरु भयो ‘हिस्टोप्याथोलोजी’ सेवा



  • आफ्नै खबर
  •     (१४ घण्टा अघि)
  • पाठक संख्या ६७
  • बाँके/  नेपालगञ्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु गरिएको छ । 

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौँबाट ल्याइएका उपकरण र आवश्यक जनशक्ति व्यवस्थापनपछि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले लामो समयदेखि गरिरहेको प्रयास सफल भएको छ । यसले यस क्षेत्रका बिरामीलाई ठूलो राहत मिल्नेछ ।’ 

    डा. सुवेदीका अनुसार यहाँ चारवटा उपकरणसँगै दुई जना प्याथोलोजी चिकित्सकले सेवा दिइरहेका छन् । केही दिनअघि मात्रै सुरु भएको सेवाबाट तीन व्यक्ति लाभान्वित भएको र सेवाका कारण क्यान्सर वा अन्य रोगको समयमै पहिचान गर्न सक्ने अवस्था बनेको छ । 

    मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदीले भन्नुभयो, ‘सेवा सुरु भएपछि समयमै रोग पहिचान गरी तत्काल उपचार गर्ने अवस्था बनिरहेको छ । अब यस क्षेत्रमा क्यान्सरलगायत विभिन्न रोगको पहिचानका लागि नमूना बाहिर पठाउनुपर्ने र रिपोर्टका लागि लामो समय पर्खिनुपर्ने समस्या हट्ने छ ।’ 

    अस्पतालका प्याथोलोजी विभाग प्रमुख डा. शर्मिला गुप्ताले हिस्टोप्याथोलोजी सेवा सुरु भएपछि क्यान्सर, क्षयरोग, अटो-इम्युन, मिर्गौला, पेट, कलेजोलगायत दीर्घरोग पहिचान गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार हिस्टोप्याथोलोजीले शरीरबाट निकालिएका अङ्ग एपेन्डिक्स, पित्तथैली, प्रोस्टेट आदि रोगग्रस्त छन् कि छैनन् भन्ने पत्ता लगाउँछ । 

    विभाग प्रमुख डा. गुप्ताले यसबाट क्यान्सर जस्ता गम्भीर रोग पत्ता लगाउन, रोगको प्रकार र अवस्था बुझ्न, रोग कति फैलिएको छ भन्ने थाहा पाउन र उचित उपचार गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । 

    अस्पतालका ‘कन्सल्टेन्ट’ प्याथोलोजिस्ट डा. सुरेशमान श्रेष्ठले हाल हिस्टोप्याथोलोजीका आधारभूत सेवा सञ्चालन गरिएको र आगामी दिनमा स्तरीय स्टेनिङ र इम्युनोहिस्टोकेमिस्ट्री जस्ता सेवा थपिने बताउनुभयो ।  

    अस्पतालले केही दिनमै बोन म्यारो एस्पिरेसन (हड्डी भित्रको मासु निकालेर जाँच गर्ने प्रक्रिया) सेवा पनि सुरु गर्ने तयारी अगाडि बढाइएको जनाएको छ ।

    –रासस