२६  २०८२ सोमबार | 09 Feb 2026 Mon

देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप दिन सुरु



  • आफ्नै खबर
  •     (१३ घण्टा अघि)
  • पाठक संख्या ९९
  • काठमाडौंँ/  सरकारले आजदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान देशभरि नै सञ्चालन गर्न सुरु गरेको छ ।

    स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार आजदेखि फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन थालिएको छ । 

    अभियानकै क्रममा गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने किशोरी र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिरका किशोरी पनि सोही अभियानअन्तर्गत खोप लगाउने र हिमाली तथा हिउँ पर्ने जिल्लामा भने चैतमा सञ्चालन हुने शाखाले जनाएको छ । 

    पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसको विरुद्ध एचपिभी खोप लगाउनुपर्ने हुन्छ । कक्षा ६ मा पढ्ने किशोरीलाई विद्यालय र अन्य किशोरीलाई खोप केन्द्रमा एचपिभी खोप लगाइने छ ।

    खोप शाखाका प्रमुख डा. अभियान गौतमले खोप शतप्रतिशत प्रभावकारी रहेकाले खोप लगाउन सबैलाई आग्रह गर्नुभयो । नेपालमा हरेक दिन औसतमा ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिन्छ । जसमा चार जनाको ज्यान जाने गरेको छ । तर यो क्यान्सर रोग एचपिभी खोपबाट रोक्ने सकिने छ । 

    सरकारले गत वर्ष माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि नै कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरसमूहका करिब १७ लाख किशोरी खोप लगाएको थियो । शाखाका  अनुसार २० दिनको अभियानमा करिब तीन लाख ५० हजार बालबालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने छ ।

    नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको देखिन्छ भने क्यान्सरको कारणबाट महिलाको मृत्यु हुनेमा यो क्यान्सर पहिलो स्थानमा रहेको छ ।

    –रासस