१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

नगरवासीको स्वास्थ्य तथ्याङ्क सङ्कलनका लागि गोकर्णेश्वरको ‘हेल्थ कार्ड’

कार्ड जारी गर्ने देशकै पहिलो स्थानीय तह



  • आफ्नै खबर
  • ५ फागुन २०८० शनिबार (१० महिना अघि)
  • पाठक संख्या ८८
  • काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले देशमै पहिलो पटक ‘हेल्थ कार्ड’ जारी गरेको छ । नगरपालिकाले नगरवासीको स्वास्थ्य अवस्था तथा उपचारको तथ्याङ्क राख्ने उद्देश्यसहित ‘गोकर्णेश्वर हेल्थ कार्ड’ सुरु गरेको हो । 

    नगरपालिकाका स्थानीयको स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखी एकीकृत इलेक्ट्रोनिक पब्लिक हेल्थ प्रोफाइल सिस्टमसहित कार्ड सेवा सुरु गरेको नगरले जनाएको छ । कार्ड जारी गर्दै नगरपालिकाका प्रमुख दीपककुमार रिसालले भने, ‘नगरवासीको सु–स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै आएको नगरपालिकाको पहिल्लो अभ्यास देशकै समग्र स्वास्थ्य क्षेत्रका लागि कोसेढुंगा सावित हुने अपेक्षा गरेको छु ।’

    के हो गोकर्णेश्वर हेल्थ कार्ड ?
    यसमा नगरवासीको स्वास्थ्य अवस्था तथा उपचारको जानकारीलाई एक विशिष्टीकृत युनिक हेल्थ आईडीको माध्यमबाट सुरक्षित राखिन्छ । यसको लागी स्वास्थ्य सेवामा जोडिने सेवाग्राही वा नागरिक, सेवा प्रदायक स्वास्थ्य संस्थाहरु तथा स्वास्थ्यकर्मी, समन्वय र सुपरिवेक्षण गर्ने वडा कार्यालय एवम् नगरपालिकाले तोकेका सरोकारवालालाई एउटै प्रकृतिले जोडेर एक ‘पालिका स्वास्थ्य प्रणाली र नमुना’ बनाउने सफ्वेयरमा सङ्कलन गरिन्छ । त्यसमध्ये अतयावश्यक निश्चित हेल्थ रेकर्ड ‘क्यूआर कोड’मार्फत बिरामी वा नागरिकले चाहेको अवस्थामा जुनसुकै स्थानबाट स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले प्राप्त गर्न सक्ने गरी यो कार्डको परिकल्पना गरिएको नगरप्रमुख रिसालले जानकारी दिए । 

    स्वास्थ्य स्थिति र नगरपालिकाले प्रदान गर्ने स्वास्थ्य सुविधाका दृष्टिले फरक वर्ग र तहका ज्येष्ठनागरिक, बालबालिका, गर्भवती महिला, खेलाडी, शिक्षक, रोग मुताविकका बिरामीलाई फरक, फरक कलर कोडिङ गर्न सकिने यो प्रणालीले नगरपालिकाको स्वास्थ्य सेवा प्रवाह र नीति निर्माणलाई तथ्याङ्कपरक तरिकाले व्यवस्थित गर्ने जनाइएको छ । आफ्नो स्वास्थ्य सेवा प्रवाह र त्यसको रेकर्ड राखी त्यसलाई एकीकृत गर्न सक्ने हुँदा बैङ्कहरुले सेवाग्राहीलाई सेवा सहज बनाए जस्तै नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाहरुको ‘अन्तरआवद्धता वा इन्टर अपरेबिलिटी’ अँगाल्दै क्रमशः यो सिस्टमले नगरपालिकाको ‘सिंगल क्लिक स्वस्थ्य दर्पण’को भूमिका वहन गर्न सक्ने नगरपालिकाले अपेक्षा गरेको छ । यसले प्रदेश सरकार र सघीय सरकारसँग तोके अनुसार तथ्याङ्क र सूचना साटासाट गर्न सक्ने जनाइएको छ । 
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?