दुई दिनअघि श्रीमान् गुमाएकी ५६ वर्षीया माइली राईले हारगुहार गरेर श्रीमान्को दाहसंस्कार त गरिन्, तर थप किरिया ‘सांगे किरिया’ कसरी सक्ने भन्ने चुनौती थपिएको छ । नुवाकोटको लिखु गाउँपालिका– ४ रानीटार स्थायी घर भएकी माइलीको परिवार काठमाडौंको खुसिबुमा बस्दै आएको छ । छोरा र छोरी बेरोजगार छन् । आम्दानीको स्रोत केही छैन । पशुपति आर्यघाटनस्थित किरियापुत्री भवनमा बसिरहेकी माइलीसँग बिहान–बेलुका खाने सामग्रीसमेत छैन ।
भवनको १०७ नम्बर कोठामा किरिया बारिरहेकी उनले भनिन्, ‘श्रीमान्को मृत्यु भयो । बल्लतल्ल शव दहन गर्यौँ । बाँकी संस्कार गर्नैपर्यो । किरिया बस्ने ठाउँ बल्लतल्ल मिल्यो । तर, किरिया बस्दा बिहान–बेलुका खाने खानासमेत छैन ।’डेरामा बस्दै आएकी माइली बिहान–बेलुका साहुको घरमा भाँडा माझ्ने काम गर्थिन् । उनका श्रीमान् पाण्डव रिक्सा चलाउँथे । तर, शनिबार बिहान पाण्डवको अचानक मृत्यु भयो । शव घाटसम्म लैजानै समस्या भयो । उनीहरूले शववाहन बोलाए । केहीबेरमै शववाहन कोठामा आइपुग्यो । तर, आर्यघाटसम्म लैजान चार हजार रुपैयाँ माग्यो । माइलीसँग त्यत्रो पैसा थिएन । शववाहन शव नलिई फर्कियो ।
शव नउठेपछि वरपरका मान्छेले छिटो उठाउन दबाब दिन थाले । समस्यामा परेकी माइलीले श्रीमान्ले चलाउँदै आएको रिक्सामा शव राखिन् । छोरा र छोरीलाई ठेल्न लगाएर पशुपतिनाथ आर्यघाट पुर्याइन् । दाहसंस्कारका लागि उनीहरू विद्युतीय शव दहन केन्द्र पुगे । केन्द्रका कर्मचारीले चार हजार रुपैयाँ शुल्क मागे । शुल्क तिर्न सक्ने स्थितिमा माइली थिइनन् । बिहान करिब १० बजे शव दहन केन्द्र पुगे पनि पैसा नभएकाले दिनभरजसो रिक्सामै राखिन् ।
माइलीलाई घाटकै कसैले बागमती प्रदेशका पूर्वसांसद नरोत्तम वैद्यको फोन नम्बर दिए । वैद्य तुरुन्तै घाट पुगे । शुल्क भुक्तानी गरिदिए । माइलीका लागि श्रीमान्को शव जलाउन बाटो बल्ल खुल्यो । विद्युतीय शव दहन केन्द्रमा माइलीले श्रीमान्को दाहसंस्कार गरिन् । तर, किरिया बस्ने कार्यले उनलाई तनाव दियो । डेरामा घरबेटीले अवरोध गर्ने भए । घाटमै बस्दा कोठाको बहाल तिर्नुपर्ने भयो । रनभुल्लमा परेकी उनले पुनः वैद्यलाई सम्पर्क गरिन् । वैद्यले उनलाई किरिया बस्ने कोठाको प्रबन्ध पनि गरिदिए । अहिले माइली सोही कोठामा किरिया बसिरहेकी छिन्, तर उनलाई बिहान–बेलुका खाने अन्नको अभाव छ ।
नयाँ पत्रिकाका लागि टेकराज थामीले लेखेको समाचार
प्रतिक्रिया दिनुहोस