काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हित र जनजीविकाका लागि सबै कम्युनिष्ट एकीकृत हुनुपर्ने बताउनुभएको छ ।
पार्टीनिकट महिला सङ्घद्वारा शुक्रबार आयोजित भेलामा उहाँले कम्युनिष्ट विचार बोकेका सबै दल मिलाउने पक्षमा आफ्नो पार्टी रहेको बताउँदै त्यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि जनताको आर्थिक तथा सामाजिक रुपान्तरण हुन नसकेको बताउँदै उहाँले सबै कम्युनिष्टलाई गोलबद्ध गराएर देश बनाउन र जनतालाई गरिबीबाट मुक्त बनाउनुपर्नेमा जोड दिए ।
अध्यक्ष नेपालले देशमा छरिएका सबै कम्युनिष्टलाई मिलाएर बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि जस्तो त्याग गर्न पनि आफ्नो पार्टी तयार रहेको प्रस्ट पार्नुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले अहिले कम्युनिष्ट एकताका लागि नयाँ चरणको छलफलमा रहेको जानकारी दिनुभयो । देशमा सुशासन कायम गर्न इमानदार नेता तथा कार्यकर्ता चाहिएको बताउँदै अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्तालाई कम्युनिष्ट आदर्श र सिद्धान्तप्रति इमान्दार भएर पार्टीको सङ्गठन निर्माणमा लाग्न निर्देशन दिनुभयो । सरकारको विषयमा प्रदेशदेखि राजनीतिक नियुक्तिको विषयमा पनि छलफल गरी उपयुक्त निर्णय गरिने उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस