१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

चन्दा र श्रमदानले वन्यो पदमार्ग



  • रासस
  • ४ चैत २०८० आईतबार (९ महिना अघि)
  • पाठक संख्या १२१
  • म्याग्दी/ म्याग्दीको रघुगङ्गा गाउँपालिकाका युवाले १५ लाख रुपैयाँ चन्दा र तीन महिनासम्म श्रमदान जुटाएर गाउँपालिकाको वडा नम्वर २ मा २ किलोमिटर पक्की पदमार्ग निर्माण गरेका छन् । युवाहरुले बेनी–जोमसोम सडकअन्तर्गत सिरुबारी आर्यघाटबाट रिसिन चौतारीसम्म निर्माण भएको पैदलमार्गलाई विस्तार गरेर चौर–भिरपाटा हुँदै सिरसिरे डाडाँमा रहेको वडा कार्यालयसम्म पुर्याउने लक्ष्यका साथ काम गरेका हुन् । 
    पदमार्ग निर्माण अभियानका संयोजक सागर केसीले १५ लाख २७ हजार रुपैयाँ सहयोग रकम जुटेको र १४ लाख ७७ हजार तीन सय ३३ रुपैयाँ खर्च भएको राससलाई बताउनुभयो । 
    उहाँले भन्नुभयो, ‘स्वदेशमा हुनेले श्रमदान गर्नुभएको छ भने विदेशमा हुने गाउँलेले सहयोग गरेको रकमबाट निर्माण सामग्री खरिद गरेर स्थानीयवासीको श्रमदान जुटाई दुई किलोमिटर पक्की सिढीसहितको पदमार्ग निर्माण गरेका छौँ ।’
    दाहसंस्कारका निम्ति शव घाटमा लैजाने पदमार्ग जीर्ण र जोखिमयुक्त भएकाले वडा कार्यालयसँग समन्वय गरेर गत पुसदेखि पदमार्ग निर्माण अभियान सञ्चालन भएको थियो । पदमार्ग निर्माणका लागि एक घरबाट पाँच दिनसम्म श्रमदान गरिएको निर्माण समितिका सचिव रवीन्द्र शर्माले बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘पदमार्ग निर्माणमा दैनिक १५ देखि ३० जनाको टोलीले निरन्तर श्रमदान गरेको थियो भने गाउँका आमा समूहहरूले दैनिकरूपमा निःशुल्क खाजाको व्यवस्था गरेको थिए ।’
    गाउँको विकासमा सरकारी बजेट मात्र ताकेर बस्नेहरूका लागि पदमार्ग निर्माणमा खटिएका युवाहरू उदाहरण बनेको रघुगङ्गा गाउँपालिका–२ का वडाध्यक्ष अमृत भण्डारी बताउनुहुन्छ । पदमार्गलाई विस्तार गरेर वडा कार्यालय पुर्याउन चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन भएको उहाँले जानकारी दिनुभयो ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?