महोत्तरी/ मिथिला मध्यमा परिक्रमाका यात्राको आठौँ दिन यात्रामा निस्केका यात्रीलाई मुसलमान समुदायले विदाई गरेका छन् । बलवा–१० को ध्रुव कुण्डमा साताँै दिनको रात्रि विश्राम गरेका यात्रुलाई आइतवार बिहान मुस्लिम समुदायले बिदाइ गरेका हुन् ।
हिन्दू–मैथिल परम्पराको मिथिला माध्यमिकी यात्रामा वर्षौँदेखि ध्रुवकुण्डमा मुस्लिम समुदायले यात्रीको स्वागत र बिदाइ गर्ने परम्पराजस्तै बनेको छ । मुस्लिम समुदायका अगुवाले आज बिहान अबको यात्रा सुखद् होस् भन्ने कामना गर्दै यात्रीको बिदाइ गरेका हुन् । विश्रामस्थल वरिपरि मुस्लिम समुदायको बाहुल्य छ । आफ्नो ठाउँमा बसेका यात्री आज बिहान अघिल्लो यात्रामा निस्कनुअघि मुस्लिम अगुवाले धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावको स्थानीय परम्परा अनुशरण गर्दै बिदाइ गरेका हुन् ।
ध्रुवकुण्ड नजिकैको अधियानपुर बस्तीका शेष अमानुल्लाहले भन्नुभयो, ‘हामी वर्षौँदेखि मिलेर बसेका छौँ, आफ्ना ठाउँमा आएका अतिथिको स्वागत र बिदाइ मिथिलाको स्थापित परम्परा हो ।’ यसले फरक धर्म परम्परा र संस्कृतिबीच आपसी प्रेम र सद्भावको सकारात्मक सन्देश प्रवाह गर्ने शिक्षण पेसाबाट अवकाश लिनुभएका उहाँको भनाइ छ ।
सत्ययुगमा राजकुमार ध्रुवले तपस्या गरेका ठाउँ मानिने ध्रुवकुण्डलाई हिन्दूले पवित्र धार्मिकस्थल मान्ने गरेका छन् । मध्यमा परिक्रमाका यात्रीको स्वागत र बिदाइको अवसर आफुहरूले पाउनु गौरवको कुरा भएको मुस्लिम धर्मावलम्बी बताउँछन् ।
यात्री आइपुग्दा स्थानीय संस्कृतिअनुसार गम्छा ओढाएर र बिदाइ गरिँदा सुपारीका टुक्रा हातमा दिने चलन छ । प्रतीकात्मकरूपमा केही यात्रीको स्वागत र बिदाइ हुने गरे पनि बासस्थलमा बस्ने ठाउँको प्रबन्ध, आकस्मिक उपचार सेवा र अन्य भइपरि आउने काममा मुस्लिम समुदाय अग्रसर रहँदै आएको छ । मिथिलामा सुपारीको टुक्रा बिदाइका बेला दिने गरिएको परम्परा अघिल्लो निम्ता पनि मानिन्छ । यसको आइरहनुस् है भन्ने हुने धमौराका बासिन्दा अवकाशप्राप्त शिक्षक सुशील यादव बताउनुहुन्छ ।
धमौरा हिन्दू र मुस्लिम परम्पराको आस्थाको स्थल हो । यहाँ हिन्दू परम्पराको ध्रुवकुण्ड र इस्लाम परम्पराको रौजामजार छन् । रौजामजार इस्लाम धर्म परम्पराका सुफी सन्त गदालीबाबा, बहार अलीबाबा र रहमत अलीबाबाको पवित्र मजार (समाधिस्थल) रहेको ठाउँ हो । हिन्दूहरु मजारस्थलमा श्रद्धा जनाउँदै आशिष माग्न पुग्छन् । रौजामजार र ध्रुवकुण्ड आफ्नो ठाउँ चिनाउने पवित्रस्थल भएकाले आफुहरूको समान चासोमा पर्ने यस ठाउँका हिन्दू मुस्लिम बताउँछन् ।
प्रतिक्रिया दिनुहोस