११ साउन २०८२ आईतबार | 27 Jul 2025 Sun

सहर पस्नेभन्दा विदेशिनेको संख्या झण्डै दोब्बर



  • आफ्नै खबर
  • ५ चैत २०८० सोमबार (१ बर्ष अघि)
  • पाठक संख्या १५३
  • काठमाडौँ/ नेपालका गाउँ ठाउँवाट रोजगारी, शिक्षा लगायतका अपेक्षामा घर छोड्नेहरु स्वदेशकै सहर भन्दा विदेश रोज्ने वढी देखिएका छन् । राष्ट्रिय तथ्याँक विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सहर रोज्ने भन्दा विदेश रोज्नेको संख्या झण्डै दोव्वर देखिएको हो ।  
    प्रतिवेदन अनुसार २०७८ सालको जनगणनामा नेपालमा रहेको परिवारको सङ्ख्या ६६ लाख ६० हजार ८ सय ४९ देखिएको छ । जसमध्ये १३ दशमलव ४ प्रतिशत परिवारको कम्तीमा १ सदस्य देशभित्रै अन्य कुनै ठाँउमा बसोबास गरिरहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, २३ दशमलव ४ प्रतिशत परिवारबाट कम्तीमा १ सदस्य विदेशमा बसोबास गरिरहेको देखिएको छ ।
    विदेशिनेको संख्या सहर पस्नेको भन्दा दोव्वर देखिएपनि दक्ष वा अर्धदक्ष जनशक्ति भने अझैपनि तयार गर्न नसकिएको प्रतिवदेनमा देखिएको छ । २३ प्रतिशत भन्दा वढी परिवारवाट कम्तिमा १ सदस्य विदेश गएको देखिएपनि करिब १३ प्रतिशत परिवारका कम्तीमा एक सदस्यले मात्र कुनै न कुनै किसिमको प्राविधिक शिक्षा वा व्यावसायिक तालिम लिएको प्रतिवेदनमा उल्लेख छ । नगरपालिकामा बसोबास गर्ने परिवारहरुमध्ये १३ दशमलव ४ प्रतिशत परिवारका कम्तीमा १ व्यक्तिले यस्तो तालिम लिएको देखिएको छ भने गाउँपालिकामा यो सङ्ख्या १० दशमलव ८ प्रतिशत छ ।
    वैदेशिक रोजगारीका कारण पनि देशमा बैङ्किङ प्रणालीमा आवद्ध परिवार संख्या भने सन्तोषजनक देखिएको छ । नेपालका कुल परिवार सङ्ख्यामध्ये ६१ दशमलव ४ प्रतिशत परिवारमा कम्तीमा एकजना सदस्यको नाममा बैङ्क वा वित्तीय संस्थामा खाता रहेको प्रतिवेदनले जनाएको छ । यसैगरी कुल जनसङ्ख्याको २५ दशमलव ६ प्रतिशतले कुनै बैङ्क वा वित्तीय संस्थामा खाता खोलेका छन् । कुल जनसङ्ख्याको एक चौथाइभन्दा केही बढी अर्थात् २५ दशमलव ६ प्रतिशत परिवारले बैङ्क तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट ऋण लिएको प्रतिवेदनमा जनाइएको छ ।