१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

बन्यजन्तु धपाउन पाणिनी गाउँपालिकाले दियो भोटे कुकुर



  • आफ्नै खबर
  • ७ चैत २०८० बुधबार (८ महिना अघि)
  • पाठक संख्या ८३

  • अर्घाखाँची/  पाणिनी गाउँपालिकाले कृषकको बाली वन्यजन्तुवाट जोगाउन भोटे कुकुर दिएको छ । गाउँपालिकाको वडा नं. २ पोखराथोकमा किसानको माग अनुसार शुद्ध नश्लका ९ वटा भोटे कुकुर वितरण गरेको हो । 
    वडाध्यक्ष चन्द्रकान्त पौडेलले बाँदर, बँदेल, दुम्सी जस्ता वन्यजन्तु लाग्ने क्षेत्रका सबै गाउँ समेटिने गरी किसानले मागे अनुसार भोटे कुकुर वितरण गरिएको बताउनु भयो । बाँदरका कारण बाली जोगाउन मुस्किल भएका तथा वन्यजन्तुबाट हैरानी खपेका किसान पनि भोटे कुकुर पाएपछि खुशी भएका छन् । पोखराथोकका किसान भाष्करराज पौडेलले भन्नुभयो, ‘वन्यजन्तुबाट खेतीपाती तथा फलफुल जोगाउन मुस्किल छ । बाँदर तथा वन्ययजन्तुबाट पाइरहेको हैरानी भोगेका हामीलाई भोटे कुकुर पाएपछि खुसी भएका छौँ ।’
    किसानहरुको २५ प्रतिशत र वडा कार्यालयको ७५ प्रतिशत लागतमा कुकुर खरिद गरी वितरण गरिएको हो । वितरित भोटे कुकुर वडा अध्यक्षसहित गाउँपालिकाको कृषि तथा पशु शाखाका प्राविधिकहरु समेतले धादिङ भोटे कुकुर क्लव अफ नेपाल, पोखरा महानगरपालिकाको वडा नं २१ र माछापुच्छ्रे« गाउँपालिकाबाट खरिद गरी ल्याइएको हो ।  
    सबै कुकुरको स्वास्थ्य प्रतिवेदन, डीएनए परीक्षण भइसकेको वडा अध्यक्ष पौडेलले जानकारी दिनुभयो । चालिसदेखि ६० दिनसम्मका कुकुर ३५ हजार रुपैयाँको दरले खरिद गरिएको हो । बाँदर र बँदेल जस्ता वन्यजन्तुले सताउन थालेपछि अर्घाखाँचीसहित पहाडी जिल्लाका मानिसहरुको बढ्दो बसाइसराइ रोक्न यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकृत रोमाकान्त न्यौपानेले बताउनुभयो ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?