२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

गण्डक जलविद्युतको टर्वाइन मर्मत गर्न बजेट अभाव



  • आफ्नै खबर
  • ८ चैत २०८० बिहिबार (१ बर्ष अघि)
  • पाठक संख्या ७७

  • नवलपरासी/ पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको टर्वाइन बजेट अभावमा मर्मत हुन सकेको छैन । देशकै पुरानो मध्येको उक्त जलविद्युत् उत्पादन केन्द्रमा १५ वर्ष अघि बिग्रिएको टर्वाइन अहिले सम्म मर्मत हुन नसकेको हो ।  

    प्रतापपुर गाउँपालिका–७ गुठ्ठी सूर्यपुरामा रहेको जलविद्युत् केन्द्रका उपकरण पुरानो हुनुका साथै जीर्ण बन्दै गएको छ । नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो । करिब ४३ वर्ष पुरानो गण्डक जलविद्युत्मा मर्मत र पूर्वाधार विकासको अभाव देखिएको केन्द्रका प्रमुख पीताम्बर भुसालले बताउनुभयो ।  

    उहाँका अनुसार १५ मेगावाट विद्युत् उत्पादन क्षमता भएको उक्त केन्द्रबाट अहिले चारदेखि पाँच मेगावाटसम्म विद्युत् उत्पादन भइरेको छ । तीन वटा टर्वाइन भएकोमा दुई वटाले मात्र विद्युत् उत्पादन गरिरहेको छ । एउटा टर्वाइन बिग्रेर थन्केको प्रमुख भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार बजेट अभावले गर्दा टर्वाइनको मर्मत नभएको हो । 

    ‘केही समय पहिला एउटा टर्वाइनले मात्र विद्युत् उत्पादन गर्ने अवस्था थियो । केही समयपछि बनाएर अहिले दुई टर्वाइनले विद्युत् उत्पादन गरिरहेको छ’, प्रमुख भुसालले भन्नुभयो, ‘विद्युत् उत्पादनका लागि उक्त जलविद्युत् केन्द्रमा पानीको मात्रा पनि पर्याप्त छैन ।’ 

    नेपाल–भारत दुईपक्षीय सम्झौताअनुसार पानीको मात्र घटाउने–बढाउने भारतीय पक्षको जिम्मामा रहेकाले विद्युत् केन्दूले पर्याप्त मात्रामा पानी नपाएको उहाँले गुनासो गर्नुभयो । विद्युत्का विभिन्न उपकरण मर्मत तथा भौतिक अवस्था सुधार गर्नका लागि स्रोत खोजी भइरहेको प्रमुख भुसालको भनाइ छ ।