१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

सन् २०५० सम्ममा नेपाललाई क्षयरोग मुक्त गर्ने सरकारको लक्ष्य



  • आफ्नै खबर
  • ८ चैत २०८० बिहिबार (८ महिना अघि)
  • पाठक संख्या ३७
  • काठमाडौं - सन् २०५० सम्ममा मुलुकलाई क्षयरोग मुक्त घोषणा गर्ने नेपाल सरकारको लक्ष्य छ । विश्व क्षयरोग दिवसका अवसरमा बिहीबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्ज्वल श्रेष्ठले क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत अहिले एक सय २५ स्थानीय तहमा क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गरिएको जानकारी दिनुभयो ।  

    अभियान क्रमशः ७ सय ५३ वटै स्थानीय तहमा लागू गरिने उहाँको भनाइ थियो । गत आर्थिक वर्षमा २५ वटा स्थानीय तहबाट सुरु गरिएको सो अभियान चालु आवमा थप १ सय स्थानीय तहमा विस्तार गरिएको उहाँले जानकारी दिनुभयो ।    यही चैत ११ गते ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाइँदै छ ।  

    समुदायको सक्रियतामा सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने र क्षयरोगको निदान उपचारमा लाग्ने आर्थिक व्ययभारलाई शून्यमा झार्ने लक्ष्य लिएको निर्देशक श्रेष्ठले बताउनुभयो । विश्वमा औषधि प्रतिरोधी क्षयरोगको उच्च भार भएका ३० देशमध्ये नेपाल पनि छ । 

     क्षयरोगका बिरामीमध्ये ७२ प्रतिशत फोक्सोका बिरामी र २८ प्रतिशत अन्य अङ्गका बिरामी हुने गरेका छन् । अन्य अङ्ग फोक्सोको पानी, हड्डी र दिमागमा पनि क्षयरोग लाग्ने गरेको उहाँले बताउनुभयो । 

    क्षयरोगका ६८ प्रतिशत विरामी मधेस, बागमती र लुम्बिनी प्रदेशका रहेका छन् । क्षयरोगको मृत्युको दर तीन प्रतिशत छ । क्षयरोग माइक्रो ब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो । १ जनाबाट १० जनासम्म क्षयरोग सर्न सक्दछ । फोक्सोमा क्षयरोग लागेमा सर्ने र अन्य अङ्गमा लागेमा नसर्ने निर्देशक श्रेष्ठले बताउनुभयो । 

        क्षयरोग भएका बिरामीले खोक्दा, हाछ्युँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ । क्षयरोगबाट ७२ प्रतिशत फोक्सोलाई सङ्क्रमण गर्छ । यस्तै मुटुको बाहिरी झिल्ली, मासु, जोर्नी, मस्तिष्कमा पनि क्षयरोगले असर गर्दछ । 

    क्षयरोगका बिरामीले कम्तीमा ६ देखि बढीमा १२ महिनासम्म चिकित्सकको निगरानीमा बसेर औषधि सेवन गरेमा ९० प्रतिशत रोग निको हुने केन्द्रका निर्देशक डा श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार क्षयरोगको जोखिम १५ देखि ४४ वर्ष उमेर समूहका छन् । पछिल्लो वर्षमा ६५ वर्षभन्दा माथिका वृद्धवृद्धामा पनि क्षयरोग देखिने गरेको पाइएको छ । 

    कुपोषण भएका, धुमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादकपदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस क्षयरोगको उच्च जोखिम पर्ने गर्दछन । 

        तौल कम हुनु, खानामा रुचि कम हुनु, दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, राति ज्वरो आउनु क्षयरोगका प्रमुख लक्षण हुन् । 

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?