११ असार २०८२ बुधबार | 25 Jun 2025 Wed

हेलो किड्जले राष्ट्रिय नाचघरमा वार्षिकोत्सव मनाउँदा गोकर्णेश्वर नगरप्रमुख असन्तुष्ट



  • आफ्नै खबर
  • १० चैत २०८० शनिबार (१ बर्ष अघि)
  • पाठक संख्या ७६४

  • काठमाडौं/ गोकर्णेश्वर नगरपालिकाको नारायणटारमा रहेको हेलो किड्ज स्कुलले स्थापनाको आठौँ वार्षिकोत्सव मनाएको छ । स्कुलले काठमाडौंको जमलमा रहेको राष्ट्रिय नाचघरमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो । 


    गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले उद्घाटन गरेको कार्यक्रममा वर्षको उत्कृष्ट शिक्षक-शिक्षिकाको रूपमा जाङ्मु शेर्पालाई सम्मान गरिएको थियो । बालबालिकाले विभिन्न प्रकारका गीत, संगीत र नृत्यका साथै लघुनाटक पनि प्रदर्शन गरेका थिए । विद्यालयको मातृ संस्था अरुणिमा एजुकेसन नेटवर्कका बोर्ड अध्यक्ष गोपालप्रसाद बरालले बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि यसप्रकारका कार्यक्रम आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘आजको यस कार्यक्रमले बालबालिकामा हुने असीमित प्रतिभा प्रस्फुटनको मौका पाएको छ । हामी सधैँ यसैगरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्छौँ ।’


    विद्यालयका प्रवन्ध निर्देशक केशवप्रसाद जोशीले बालबालिकालाई पढ्दै खेल्ने, खेल्दै पढ्ने तथा पढ्दै सिक्ने, खेल्दै सिक्ने शैलीले अघि बढाउँदा उनीहरूमा अन्तर्मुखी स्वभाव हराउँदै जाने र समाजमा निडर तथा व्यावहारिक भएर प्रस्तुत हुन सघाउने बताउनु भयो । वार्षिकोत्सव कार्यक्रममा सबै विद्यार्थीले मञ्चमा आफ्नो प्रतिभा प्रस्तुत गर्न पाएको उहाँको भनाइ थियो । 
    कार्यक्रममा मदर ट्यालेन्ट प्रतियोगिता पनि आयोजना गरिएको थियो । विद्यार्थीका आमाहरूको नृत्य प्रतियोगितामा रोजी कार्की प्रथम, सजु भण्डारी द्वितीय र प्रतिक्षा ओली तृतीय हुनु भएको थियो । 

    गोकर्णेश्वरका प्रमुख असन्तुष्ट
    कार्यक्रमका प्रमुख अतिथि दीपककुमार रिसालले सानोतिनो कार्यक्रम गर्न पनि धेरै टाढा जानुपर्ने वातावरण भएको बताउनु भयो । उहाँले असन्तुष्टि जनाउँदै भन्नुभयो, ‘साना बालबालिकालाई कार्यक्रमका लागि टाढासम्म लैजानुपर्ने अवस्था ठीक होइन ।’ 
    यो अवस्थाको अन्त्यका लागि काम गर्ने उहाँको भनाइ थियो । आउँदो आर्थिक वर्षबाटै गोकर्णेश्वर नगरपालिकाभित्रै विद्यालयका कार्यक्रम गर्न उपयुक्त हुने प्रकारको भवन निर्माण गर्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘यति टाढा आएर कार्यक्रम गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । आउँदो आवमा यस्ता कार्यक्रमका लागि उपयुक्त भवन (हल) बनाउने योजना नीति तथा कार्यक्रममै राखेर अघि बढ्छु ।’