काठमाडौँ/ विश्व कविता दिवस - मार्च २१ का सन्दर्भमा साहित्य सदन नेपालले बौद्ध,रामहिटीमा राष्ट्रव्यापी कविता प्रतियोगितासहित कविता महोत्सव २०८० को आयोजना गरेको छ । ३ सय ४५ जना सहभागी कविहरु मध्ये ५ जना छनौट गरि विजेता कविहरुलाई पुरस्कृत घोषणा गरिएको कुरा निर्णयक समितिका संयोजक प्रा.डा. रामप्रसाद ज्ञवालीले जानकारी दिए । महोत्सवमा राष्ट्रिय स्तरका २२ जना अतिथि कविहरुले कविता वाचन गरेका थिए ।
उक्त कविता महोत्सव साहित्य सदन नेपालका अध्यक्ष प्रा.डा. हेमनाथ पौडेलको सभापतित्वमा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ कवि वैरागी काइलाको प्रमुख आतिथ्य र नेपाल प्रज्ञाप्रतिष्ठानकै निवर्तमान कुलपति वरिष्ठ साहित्यकार गङ्गाप्रसाद उप्रेतीको विशेष आतिथ्यतामा सम्पन्न भयो ।
३० हजार नगदसहित सम्मानपत्र रहेको प्रथम पुरस्कार तेह्रथुमकी रेजिना आपगाईको कविता ‘भुईँमान्छे’ ले प्राप्त गरेको छ । यसैगरी द्वितीय पुरस्कार स्वरुप बर्दियाकी निरञ्जना चन्द ‘निरु’ को कविता ‘जीर्ण कवच’ ले २० हजार नगद सहित सम्मानपत्र प्राप्त गर्न सफल भयो । तृतीय पुरस्कार तीन जना कविहरुलाई प्रदान गरिएको थियो । जनही १० हजार र सम्मानपत्र रहेको तृतीय पुरस्कार तनहुँका कवि गोविन्द गोपाल खतिवडाको कविता ‘माटोको माधुर्य’, नुवाकोटका कवि विष्णुप्रसाद आचार्यको कविता ‘मानवता गान’ र सिन्धुपाल्चोककी कवि डा. स्मिता श्रेष्ठको कविता ‘शल्यकक्षमा देश’लाई प्रदान गरियो ।
अतिथि कविहरु गौरी देवकोटा, धीरेन्द्र प्रेमर्षि, प्रा.डा. देवी नेपाल, जगदीशचन्द्र भण्डारी, सविता बराल, मातृका पोखरेल, बलराम तिमल्सिना, ईश्वरचन्द्र ज्ञवाली, शान्ति शर्मा, भुवनहरि सिग्देल, हीरामणि दुःखी, गोविन्द घिमिरे वेदमणि, दिव्यलक्ष्मी पोखरेल, लक्ष्मण गाम्नागे, अभय श्रेष्ठ, डा. अमर गिरी, भैरवी भूगोल, बाजुराम पौडेल, सुदेश सत्याल, अर्जुन पराजुली लगायतले कविता वाचन गरेका थिए ।
साहित्य सदन नेपालका उपाध्यक्ष मित्रलाल पंज्ञानीको स्वागत मन्तब्य, सहसचिव डा. कृष्ण सुवेदी (भारद्वाज भित्र) को धन्यवाद ज्ञापन रहेको उक्त कार्यक्रमको सञ्चालन सदनका सचिव प्रह्लाद पोख्रेल र सदस्य सुनिता बुढाथोकीले गरेका थिए ।
सचिव पोख्रेलले प्राप्त कविताहरुलाई कोडिङ गरी मूल्यांकनकालागि विज्ञहरुलाई उपलब्ध गराइएको जानकारी दिनुभयो । प्रा. डा. रामप्रसाद ज्ञवाली र डा. गीता त्रिपाठीलाई मूल्यांकनको जिम्मेवारी दीइएको थियो ।
प्रतिक्रिया दिनुहोस