२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

नेपाललाई सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर : प्रधानमन्त्री



  • आफ्नै खबर
  • १२ चैत २०८० सोमबार (१ बर्ष अघि)
  • पाठक संख्या १६३
  • काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) लाई आग्रह गर्नुभएको छ ।

    नेपाल भ्रमणमा रहेका एआइआइबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार गरेको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले एआइआइबीमा सहुलियतको प्रावधान नहुँदा बजार दरको ब्याजमा ऋण प्राप्त गर्न नेपालजस्ता मुलुकलाई कठिन हुने बताउनुभयो ।

    “नेपाललाई अझै पनि ऋणमा अझै सहुलियत आवश्यक छ, तर एआइआइबीसँग यस्तो व्यवस्था छैन,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “बजार दरको मूल्यले बैङ्कको वित्तमा नेपालको पहुँचलाई सीमित गरेको छ, तपाईँहरू नीति निर्माता भएका नाताले यसमा पुनः विचार गर्न आग्रह गर्दछु ।”

    सरकार उच्च आर्थिक वृद्धिमार्फत सुशासन र संस्थागत विकास, सामाजिक न्याय तथा समृद्धि केन्द्रित भएको बताउँदै प्रधानमन्त्री दाहालले यस प्रक्रियामा वित्तीय व्यवस्थापन, प्राविधिक सहायता, ज्ञानको साझेदारी र नीति पुँजी परिचालनमा बैङ्कको सहयोगको अपेक्षा गरेको उल्लेख गर्नुभयो ।

    नेपालमा हाल एआइआइबीकाको लगानीमा ऊर्जा क्षेत्रका केही परियोजनामा रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले जलविद्युत्, पर्यटन, सूचना प्रविधि र पूर्वाधार विकासमा लगानीको प्रचुर सम्भावना रहेकाले लगानी गर्न आग्रह गर्नुभयो ।

    “भारतमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने र बङ्गलादेशमा समेत विद्युत निर्यात गर्ने गर्ने ऐतिहासिक सम्झौताहरू भएका छन्, यसले नेपालको ऊर्जा व्यापारमा मार्गप्रशस्त गरेको छ,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “ऊर्जा क्षेत्रमा लगानीका लागि राम्रो सम्भावना छ, हामीले आगामी महिना लगानी सम्मेलन गर्दछौँ, त्यसमा एआइआइबीले उच्च तहमा प्रतिनिधित्व गर्दै नेपालका प्राथमिकताका क्षेत्रमा लगानीका लागि अनुकूल वातावरण निर्माणमा सहयोग गर्ने मैले विश्वास लिएको छु ।”

    नेपालमा निजी तथा वैदेशिक लगानी प्रवर्द्धनका लागि नीतिगत परिमार्जन गरेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री दाहालले ढुक्क भएर नेपालमा लगानी गर्न आह्वान गर्नुभयो ।

    भेटमा एआइआइबीका निर्देशक आरएमपी रथनायकेको नेतृत्वमा निर्देशकहरू, उपाध्यक्ष एवम् उच्च अधिकारीको सहभागिता रहेको थियो ।

    सो अवसरमा प्रतिनिधिमण्डलका प्रमुख श्रीलङ्काका आरएमपी रथनायकेले नेपाल संस्थापक सदस्यको रूपमा बैङ्कले नेपाललाई प्राथमिकता राखेको र यहाँको विकासमा लगानी गर्न बैङ्क सकारात्मक रहेको बताउनुभयो ।