१० मंसिर २०८२ बुधबार | 26 Nov 2025 Wed

उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुने योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन



  • आफ्नै खबर
  • १३ चैत २०८० मंगलबार (२ बर्ष अघि)
  • पाठक संख्या १५८
  • काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुने  गरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिनुभएको छ । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मङ्गलबार आयोगका नवनियुक्त सदस्यहरूलाई बोलाएर प्रधानमन्त्री दाहालले विद्यमान समस्या समाधान गर्नेगरी योजना तयार गर्नुपर्नेमा जोड दिनुभयो । उत्पादन र रोजगारी न्यून हुनु देशको प्रमुख समस्या भएको उल्लेख गर्दै उहाँले अर्थतन्त्रको हरेक क्षेत्रमा समस्या देखापर्ने तथा एक क्षेत्रको समस्या समाधान गर्न खोज्दा अर्को क्षेत्रमा समस्या झन बल्झिने अवस्थालाई सम्बोधन गर्न जरूरी रहेको उल्लेख गर्नुभयो ।

       सो अवसरमा उहाँले तथ्याङ्क प्रणालीलाई सुदृढ तुल्याई तथ्यमा आधारित नीति निर्माणमा ध्यान दिनसमेत निर्देशन दिनुभयो । १६औं योजनाको कार्यान्वयन अन्तिम चरणमा पुगेकालाई अन्तिमरूप दिने प्रक्रिया अघि बढाउन र योजनामा प्रस्ताव गरिएका रणनीति तथा कार्यक्रमलाई आगामी वर्षको बजेट निर्माणको क्रममा समावेश गर्नसमेत उहाँले आयोगलाई निर्देशन दिनुभयो ।

    सोह्रौँ योजनाले प्रमुख रूपमा देशभित्र उत्पादन र रोजगारी बढाउने दिशामा नयाँ खालका नतिजामूलक कार्यक्रमलाई अघि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले अब निर्माण गर्ने पूर्वाधारले कुन हदसम्म उत्पादन र रोजगारी बढाउन सहयोग पुर्याउने भन्दै त्यसका आधारमा मात्र पूर्वाधारका आयोजना छनोट गरी कार्यान्वयनमा लैजाने बताउनु भयो ।