भद्रपुर- धानको मूल्य वृद्धि भएसँगै चैते धानखेतीतर्फ झापाका किसान आकर्षित भएका छन् । विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल १ हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो ।
जिल्लामा विगतमा ३२ सय ५० प्रतिक्विन्टल मूल्य कायम भएको धान हाल ४२ सय ५० प्रतिक्विन्टल रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिनुभयो ।
सूचना अधिकारी भण्डारीका अनुसार लागत कम र बढी मूल्य पाउन थालेपछि यस वर्ष जिल्लामा चैते धानखेती गर्ने किसान बढेका हुन् । जिल्लामा आर्थिक वर्ष २०७९-८० मा १९ हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा चैत धान लगाइएकामा यस वर्ष बढ्ने केन्द्रले जनाएको छ । कन्काई नहरबाट सिञ्चित क्षेत्रमा केन्द्रले किसानलाई प्रविधि प्रदर्शनीको व्यवस्था गरेसँगै चैते धानप्रति किसानको आकर्षण बढेको हो । कन्काई सिँचाइ आयोजना क्षेत्रमा उन्नत कृषि प्रविधि प्रदर्शन र धानखेतीमा प्रयोग हुने आधुनिक मेसिनरीबारे दुईवटा कार्यक्रम सञ्चालन गरिएको थियो । शिवसताक्षी नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिका गरी चारवटा स्थानीय तहमा सो कार्यक्रम लागू भएको छ ।
“विगतमा ४० देखि ५० केजी धानको बीउ लाग्ने ठाउँमा प्रविधिको प्रयोग गर्दा अहिले २० केजी बीउले पुग्यो,” सूचना अधिकारी भण्डारीले भन्नुभयो, “एकातिर बीउमा खर्च घट्यो अर्कातर्फ मेसिनको प्रयोगले समय र श्रमिकको लागत पनि कम भयो । यसको प्रत्यक्ष लाभ किसानले पाउँछन् ।”
गौरादह नगरपालिका–९ का किसान यादव रिमाल आधुनिक प्रविधिको प्रयोग गरेर कम लागतमा चैते धान लगाउन पाएकामा मक्ख हुनुुहुन्छ । उहाँले ज्ञान केन्द्रको सहयोगमा आफूले आनुधिक प्रविधि प्रयोग गरेर धानखेती गरेको बताउनुभयो । उहाँले विगतमा जस्तो सिँचाइ असुविधा, धानको मूल्यमा समस्या नहुँदा पनि चैत धानखेतीप्रति उत्साहित भएर लगाएको बताउनुभयो ।
गौरीगञ्ज गाउँपालिका– १ का किसान इन्द्रबहादुर राजवंशीले ज्ञान केन्द्रले किसानले उत्पादन गरेको धान खेतबाटै जिल्लाका विभिन्न राइसमिलमा बिक्रीको व्यवस्था मिलाइदिएकोे बताउनुभयो । उहाँले भन्नुभयो, “प्रविधिको प्रयोग गरेर खेती गर्दा अलि झन्झट भए पनि प्रतिफल राम्रो दिन्छ ।”
कृषि मन्त्रालयको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७९-८० झापामा बर्खाको समयमा ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती भएको थियो । कृषि ज्ञान केन्द्रका अनुसार आव २०७९-८० मा झापा जिल्ला चैते धान १९ हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा लगाइएकाकम एक लाख चार हजार १४ मेट्रिक टन उत्पादन भएको थियो ।
प्रतिक्रिया दिनुहोस