बागलुङ/ दक्षिण बागलुङलाई मुख्य सहरी क्षेत्रसँग जोड्न ०६४ सालमै ट्रयाक खुले पनि बरेङ गाउँपालिका र गुल्मीको शान्तिपुरलाई जोड्न बनाइएको सडक १६ वर्षसम्म स्तरोन्नति हुन सकेको छैन । खाल्डाखुल्डी र अप्ठ्यारो सडक त्यसमाथि साँघुरो हुँदा यहाँका हजारौँ नागरिक जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । बरेङबाट शान्तिपुरसम्मको १३ किलोमिटर सडक डेढ दशकदेखि बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ । दुवै याममा स्थानीयले सास्ती खेप्नुपरेको छ ।
राष्ट्रिय गौरवका आयोजनाअन्तर्गतका मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, सालझण्डी–ढोरपाटन सडक भए पनि बरेङ गाउँपालिकासँग जोडिएका छैनन् । तर, गाउँपालिकाले कालीगण्डकी करिडोरसँग जोड्न सडक निर्माण गरिसकेको छ । दुई जिल्लालाई जोड्ने यो सडकलाई दक्षिण बागलुङ ‘व्यापारिक सडक’का रूपमा लिइन्छ । बरेङ क्षेत्रका लागि जिल्ला सदरमुकाम बागलुङ बजार अपायक पर्छ । प्रशासनिक कामबाहेक यहाँका अधिकांश स्थानीय बुटवल जाने गर्छन् । दैनिक हजारौँ यात्रु ओहोर–दोहोर गर्ने सडकको दुरवस्था सम्बोधनका निम्ति राज्यको नजर नपरेकामा स्थानीय खिन्न र आक्रोशित छन् ।
गाउँपालिकाले बरेङडाँडाबाट पालिकाको कार्यालय सुँडालासम्म सडक फराकिलो बनाउने, पानीको निकासका निम्ति नाली निर्माण र ग्याबिन उठाइएको छ । सडक कालोपत्र गर्न बजेट अभाव भएकोे बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले दुखेसो गर्नुभयो । कालोपत्रका लागि धेरै बजेट लाग्ने, तर पालिकाको बजेटले नभ्याउने उनले बताए । गुल्मीको शान्तिपुर र बुुटवल व्यापार तथा अन्य कामका लागि नजिक भएको हुँदा आवतजावत बाक्लो हुने उक्त सडक अपरिहार्य भएको अध्यक्ष शर्मा बताउनुहुन्छ ।
अध्यक्ष शर्माले भन्नुभयो, ‘यो सडक बाह्रै महिना सञ्चालन हुन्छ, तर निकै साँघुरो र अप्ठ्यारो छ, यस्तो सडकमा दुर्घटना हुने जोखिम उच्च हुन्छ, सडकलाई व्यवस्थित गरी कालोपत्र गर्न केन्द्र र प्रदेश सरकारसँग माग गर्दै आएका छौँ, पालिकाको बजेटले पुग्दैन, तर समय–समयमा साँघुरो सडकलाई फराकिलो बनाएर सवारीसाधन सञ्चालन गर्ने गरेका छौँ ।
प्रतिक्रिया दिनुहोस