काठमाडौं/ सुरक्षित पर्यटन प्रवद्र्धन गर्न महिला पथप्रदर्शक ‘गाइड’लाई उद्धारसम्बन्धी तालिम दिइएको छ । सीपयुक्त जनशक्तिको विकास गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले महिला गाइडलाई सातदिने रेस्क्यु तालिम दिएको हो ।
‘माउन्टेन गाइड’ बन्न आवश्यक पर्ने पाठ्यक्रममा आधारित रहेर पदयात्रा र हिमाल आरोहणका क्रममा दुर्घटनाबाट बचाउन र उद्धार गर्ने सीपहरू उक्त तालिमका क्रममा सिकाइएको प्रशिक्षक लामबाबु शेर्पाले जानकारी दिनुभयो । नेपाल पर्वतारोहण प्रशिक्षक संघको प्राविधिक सहयोग रहेको उक्त तालिममा २५ महिला गाइडको सहभागिता थियो । काठमाडौंको जगडोल जंगलमा उक्त सातदिने तालिम सञ्चालन भएको थियो ।
पदयात्रा र आरोहणका क्रममा पर्यटकको मृत्यु हुनेको संख्या वार्षिक रूपमा बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि तालिम फलदायी हुने प्रतिष्ठानका अध्यक्ष दावाफुटी शेर्पाले बताउनुभयो । सीप र दक्षताबिनाको जनशक्तिले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश जाने भएकाले यस्ता तालिमको आयोजना गर्नु आवश्यक भएको उहाँको भनाइ छ ।
बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले आगामी दिनमा दक्ष जनशक्ति विकासका लागि बोर्डले निरन्तर यस्ता तालिमको आयोजना गर्ने बताउनुभयो । सरकारले राखेको पर्यटन दशकको उद्देश्य पूरा गर्न यस्ता सीपयुक्त जनशक्ति विकास गर्नुपर्ने आवश्यकता भएको उहाँको भनाइ थियो ।
भिर र खोँचमा फसेका व्यक्ति, आरोहणका क्रममा क्रेभासभित्र पसेकालाई सहज रूपमा उद्धार गर्ने, सुरक्षित स्थानमा पुर्याउने, आवश्यक मार्गदर्शनलगायत पदमार्गका क्रममा आवश्यक पर्ने सीप तालिमका सहभागीलाई प्रशिक्षकले अभ्यास गराउनुभएको थियो ।
ट्रेकिङ गाइड र आरोहीले मात्र सहभागिता जनाएका उक्त तालिमले अन्तर्राष्ट्रिय माउन्टेन गाइड बन्न सहयोग पुर्याउने आयोजकले जनाएको छ । नेपालमा हालसम्म दावा याङजुम शेर्पा मात्र महिला माउन्टेन गाइड बन्न सफल हुनुभएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस