२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माण गर्न प्रधानमन्त्रीको निर्देशन



  • आफ्नै खबर
  • १४ चैत २०८० बुधबार (१ बर्ष अघि)
  • पाठक संख्या ९४
  • काठमाडौं- परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिनुभएको छ।

    बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०८१/०८२ को बजेटको स्रोत अनुमानसम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्रीले जनतामा आशा जगाउने गरी उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्न निर्देशन दिनुभएको हो।

    छलफलमा प्रधानमन्त्रीले सङ्कटको बेला राज्यले हस्तक्षेप गरेरै भए पनि अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। ‘सङ्कटको बेला नै राज्य चाहिन्छ। राज्यप्रति जनताको विश्वास बढ्ने पनि यस्तै बेला हो। त्यसैले बजेटलाई नयाँपन दिऊँ,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘ सरकारले केही नयाँ गर्दैछ भन्ने कुरा जनताले प्रष्ट देखुन्। उनीहरूमा सकारात्मक आशा जागोस्। जनतामा आशा जगाएर मात्रै हरेक देशले प्रगति गर्न सक्छ।’  

    राजस्व बढाउने नयाँ कार्ययोजनासहित अगाडि बढ्नसमेत प्रधानमन्त्रीले निर्देशन दिनुभयो। आयोजनाको प्राथमिकीकरणको काम व्यवस्थित गर्नुपर्नेमा समेत प्रधानमन्त्रीको जोड थियो। उहाँले भन्नुभयो, ‘जुन आयोजनामा काम राम्रो भएको छ, खर्च गर्ने क्षमता पनि राम्रो छ, त्यस्तोलाई प्राथमिकता दिऊँ। जहाँ केही काम भएको छ, त्यसलाई निरन्तरता दिऊँ। जहाँ काम भएको छैन, त्यस्ता योजना हटाइदिऊँ। बजेट मात्रै थुपार्ने तर कुनै परिणाम नदिने र अनावश्यक दायित्व मात्रै थप्ने योजना नराखौँ। त्यसरी हटाएका योजनामा जाने बजेट उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित गरौँ।’

    बैठकमा अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र दबाबमै रहेकाले परिणाम दिने ठाउँमा लगानी केन्द्रित गर्दै अर्थतन्त्रलाई गति दिनुपर्ने बताउनुभयो। छलफलमा अर्थमन्त्री पुन, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, राष्ट्रिय वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिव, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका अधिकारी उपस्थित हुनुहुन्थ्यो।