११ मंसिर २०८२ बिहिबार | 27 Nov 2025 Thu

बन्चरे डाँडामा जाने फोहोरको परिमाणलाई कम गर्ने कार्ययोजना तत्काल लागू गरिन्छ : मन्त्री बुढा



  • आफ्नै खबर
  • १५ चैत २०८० बिहिबार (२ बर्ष अघि)
  • पाठक संख्या २७८
  • काठमाडौं– बन्चरे डाँडाको ल्याण्डफिल साइटमा जाने फोहोरको परिमाणलाई कम गर्ने गरी स्थानीय तहसँग समन्वय गर्ने शहरी विकास मन्त्री धनबहादुर बुढाले बताएका छन्। 

    सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा बुधबार बसेको बैठकमा मन्त्री बुढाले बन्चरे डाँडामा फोहोर विर्सजन गरिरहेका सवै स्थानीय तहहरुलाई यथाशीघ्र फोहोरमैला वर्गीकरण गरी ल्याण्डफिल साइटमा जाने फोहोरको परिमाण कम गर्न लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। 

    बैठकले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन कार्ययोजनासमेत कार्यान्चयन गर्ने निर्णय गरेको छ। अल्पकालीन कार्ययोजनामा शहरी विकास मन्त्रालयले खानेपानी मन्त्रालय, काठमाडौं महानगरपालिका र ललिपतपुर महानगरपालिकासँग आवश्यक समन्वय गर्ने बताइएको छ।

    ल्याण्डफिल साइटमा फोहोर मैलाको व्यवस्थापनका लागि तोकेको मापदण्ड बमोजिम अवस्यक पर्ने उपयुक्त प्रविधि तथा उपकरण यकिन गरि स्थानीय तहमार्फत् खरिद प्रक्रिया अघि बढाउन शहरी विकास मन्त्रालयले आवश्यक सहजीकरण गर्ने निर्णय भएको मन्त्री बुढाले बताए। 

    बैठकले दीर्घकालीन कार्ययोजनाअन्तर्गत ल्याण्डफिल साइट प्रभावित क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम विनियोजनमा प्राथमिकता प्रदान गर्न शहरी विकास मन्त्रालय मार्फत अन्य संघीय मन्त्रालयलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ। बैठकले बन्चरे डाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले प्रस्ताव गरेको सबै संघर्षका कार्यक्रम तत्काल फिर्ता लिन समेत आग्रह गरेको छ।