ललितपुर/ मेडइन नेपाल नारासहित आगामी चैत अन्तिम साता हुने ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो २०२४ को तयारी पूरा भएको छ । जावलाखेल फुटबल ग्राउन्डमा चैत २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने एक्स्पो ‘मेडइन नेपाल प्याभिलियन’को विशेष आकर्षणसहित आयाजना हुन लागेको हो ।
ललितपुर चेम्बर अफ कमर्सको आयोजनामा सञ्चालन हुने एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइल्यान्ड, टर्की, मलेसिया, दक्षिण कोरियालगायतका देशहरूमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवासम्बन्धी सामान राखिने बताइएको छ ।
ललितपुर महानगरपालिका सहआयोजक, नेपाल चेम्बर अफ कमर्स र जावलाखेल युथ क्लबको सहयोगमा सञ्चालन हुने एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा राखिने ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले बताउनुभयो ।
ललितपुर चेम्बर अफ कमर्सले इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिसँगको सहकार्यमा पहिलोपटक जावलाखेल फुटबल ग्राउन्डमा आयोजना गर्न लागेको एक्स्पोमा मेडइन ललितपुरको पेभिलिन पनि रहने उल्लेख छ । यसमा ललितपुरमा उत्पादन हुने मौलिक निकासी योग्य समानहरू र दैनिक उपभोग्य सामानका अतिरिक्त आफ्नो ब्रान्डलाई परिचित गराउने र ललितपुरको विभिन्न वडाहरूबाट उत्पादन हुने विभिन्न सामानको प्रदर्शनी रहने अध्यक्ष शाक्यले बताउनुभयो । साथै, महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाका उद्यमी–व्यवसायीहरूले पनि आफ्नो उत्पादनलाई प्रदर्शनी गराउने र आकर्षणको रूपमा अमूर्त सम्पदा र कला–संस्कृतिको प्रदर्शनी, फेसन शो र बालबालिकाका लागि किड जोन राख्नुको अतिरिक्त थप आकर्षणको रूपमा यस एक्स्पोमा सहभागी विभिन्न छिमेकी मित्रराष्ट्रहरूका प्रतिष्ठित व्यवसायीहरूको सहभागिता रहनेछ ।
मेलाको आकर्षणको रूपमा खानाको विभिन्न देशका विभिन्न स्वादका फुड स्टल, साना बालबालिकाका लागि गेमिङजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमलगायत पाकिस्तान, भारत, थाइल्यान्ड, टर्की, मलेसिया, बंगलादेश र नेपालका उत्कृष्ट उत्पादनका करिब सयभन्दा बढी स्टल रहने एक्स्पोका संयोजक सुनील विष्टले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस