२८ बैशाख २०८२ आईतबार | 11 May 2025 Sun

गाजामा निर्बाध सहायता अनुमति दिन अन्तर्राष्ट्रिय अदालतको आदेश



  • आफ्नै खबर
  • १६ चैत २०८० शुक्रबार (१ बर्ष अघि)
  • पाठक संख्या ७०
  • नेदरल्यान्ड/ नेदरल्यान्डको हेगमा रहेको अन्तर्राष्ट्रिय न्यायालय (आइसिजे)ले बिहीबार इजरायललाई गाजापट्टीमा रहेका प्यालेस्टिनीका लागि आधारभूत मानवीय सहायता सुनिश्चित गर्न आदेश दिएको छ । इजरायलले संयुक्त राष्ट्र संघसँगको सहयोगमा तत्काल आवश्यक आधारभूत सेवाहरू र मानवीय सहायताका लागि सम्बन्धित पक्षद्वारा व्यापक रूपमा निर्बाध प्रावधान सुनिश्चित गर्न ढिलाइ नगरी प्रभावकारी उपायहरू अपनाउनुपर्ने आइसिजेले फैसला गरेको हो । 

    यस सहायतामा खाद्यान्न, पानी, बिजुली, इन्धन, आश्रय, कपडा, स्वच्छता र सरसफाइ आवश्यकताहरूका साथै चिकित्सा सेवा समावेश छ । फैसलामा गाजाबाट सीमापार आवातजावत गर्ने स्थानको क्षमता र संख्या बढाई आवश्यकताका आधारमा खुला राख्नुपर्ने जनाइएको छ ।

    आइसिजेले यसअघि जनवरी २६ मा दिएको फैसलामा पनि इजरायललाई गाजापट्टीमा प्यालेस्टिनीहरूविरुद्धको नरसंहार रोक्न, प्यालेस्टिनीविरुद्धका उक्साहट रोक्न, प्रमाणहरू सुरक्षित गर्न र मानवीय सहायता सम्बन्धमा तत्काल कदम चाल्न आदेश दिएको छ । सन् २०२३ डिसेम्बर २९ मा दक्षिण अफ्रिकाले गाजापट्टीमा प्यालेस्टिनीहरूविरुद्ध गम्भीर मानव अधिकार उल्लंघन गरेको भन्दै इजरायलविरुद्ध कारबाहीका लागि आइसिजेमा मुद्दा दर्ता गरेको थियो ।

    अदालतले गाजापट्टीमा प्यालेस्टिनीहरूको विनाशकारी जीवन अवस्था अझ बिग्रिएको अवस्थामा प्यालेस्टिनीहरूले खाद्यान्न र अन्य आधारभूत आवश्यकताको अभावलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो । पछिल्लो समय गाजामा प्यालेस्टिनीहरूले अनिकालको जोखिम मात्र सामना नगरी अनेकन मानवीय संकटको सामना गर्न बाध्य भएको तथा आगामी दिनमा अझै धेरै कठिन स्थिति उत्पन्न हुन सक्ने आदेशमा उल्लेख गरिएको छ ।
                                                                                                                                                                                                             

                                                                                                                                                                                                             एजेन्सीको सहयोगमा