मकवानपुर/ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्माण व्यवसायीहरूले सरकारबाट आफ्नो भुक्तानी चाँडै पाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । हेटौँडामा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २५औँ वार्षिकोत्सवमा बोल्दै महासंघ अध्यक्ष ढकालले निर्माण व्यवसायीको भुक्तानी रोकिन नहुने धारणा व्यक्त गर्नुभएको हो ।
अध्यक्ष ढकालले देशको विकासका लागि पूर्वाधार विकास सबैभन्दा महत्वपूर्ण पक्ष भएको सत्यता सरकारले बुझ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सरकारले भुक्तानीमा ढिलाइ गर्नुले परियोजनाहरू सम्पन्न गर्नमा पनि ढिलाइ हुने उहाँको भनाइ थियो ।
हाल राज्यबाट व्यवसायीहरूलाई निर्माण कार्यको अर्बौैँ रकम भुक्तानी गर्न नसकेको हुँदा व्यवसायीहरूले सप्लाई चेन, बैंक किस्ता एवं श्रमिकहरूलगायत करको ठूलो रकम भुक्तानी गर्न नसकी व्यवसायीहरू आर्थिक रूपमा समस्याग्रस्त रहेको उहाँले बताउनुभयो । आउँदा दिनहरूमा स्थितिमा सुधार आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
निर्माण व्यवसायीहरूलाई बैंकहरूबाट सजिलैसँग ऋण प्रवाह हुन सक्ने संयन्त्र बनाउनुपर्ने ढकालको भनाइ थियो । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्प कमल दाहालले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस