२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

एकल महिला समूहलाई व्यवसाय गर्न ‘बिउपुँजी’



  • आफ्नै खबर
  •     (१ बर्ष अघि)
  • पाठक संख्या ४०
  • इलाम/  सूर्योदय नगरपालिकाले एकल महिला समूहहरूलाई व्यवसाय सुरु गर्न बिउपुँजी प्रदान गरेको छ । नगरपालिकाका ८, ९ र १० नम्बर वडाका ३५ जना एकल महिलाका पाँचवटा समूहलाई बिउपुँजी सहयोग गरेको हो । 

    एक महिनाअघि गठन भएका ती समूहलाई कोशी प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाले पाँचदिने उद्यमसम्बन्धी तालिम दिएर सामूहिक व्यवसाय गर्न बाटो देखाएको हो । बाख्रापालन, बंगुरपालन, पुष्पखेती, टनेलमा सागसब्जी खेती र ब्युटिपार्लर सञ्चालनको चाहना व्यक्त गरेका उनीहरूलाई दुई तहका सरकारले प्रतिएकल महिला ३५ हजार रुपैयाँका दरले बिउपुँजी उपलब्ध गराएको छ । मूल समितिको रूपमा रहेको प्रगतिशील एकल महिला उद्यमशील समूहलाई १० लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो ।

    ‘एकल महिलालाई व्यवसायमा जोड्न र बचत गर्ने संस्कार विकास गर्न बिउपुँजी दिएका हौँ,’ नगरप्रमुख राईले भन्नुभयो, ‘एकल महिलाहरू समूहमा आबद्ध हुनुहुन्छ । दैनिक वा मासिक बचत संकलन गर्नुहुन्छ । उहाँहरूको इच्छाबमोजिम उद्यमशील तालिम दिएर व्यवसायमा जोड्न बिउपुँजीको कार्यक्रम ल्याएका हौँ ।’
    सूर्योदय–८  मालुमकी प्रमिला थापाले ब्युटिपार्लर सञ्चालन गर्न बिउपुँजी पाएपछि व्यवसायमा लगानी बढाउने बताउनुभयो । ‘समूहगत रूपमा लगानी वृद्धि गरेर व्यवसायलाई जीवनयापनको माध्यम बनाउने लक्ष्य छ,’ उहाँले भन्नुभयो, ‘सामान्य तरिकाले पसल गरिरहे पनि लगानी बढाउन नसक्दा व्यावसायिक बन्न सकिएको थिएन । नगरपालिकाबाट तालिम पनि पाएका छौँ । पैसा पनि पाइयो, अब यसैबाट सफल बन्नुछ ।’

    सहयोग रकम फिर्ता गर्नुपर्ने

    तीन वर्षपछि बिउपुँजीका रूपमा लिइएको ३५ हजार रुपैयाँ भने नगरपालिकालाई फिर्ता गर्नुपर्ने प्रमुख राईले बताउनुभयो । ‘उक्त रकम तीन वर्षमा नगरपालिकालाई फिर्ता गर्नुपर्ने हुन्छ । सो रकम हामी अन्य एकल महिलालाई हस्तान्तरण गर्दै जान्छौँ । बीचमा एकल महिलाले विवाह गरेमा पनि रकम नगरपालिकामा फिर्ता गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘यो रकमले सामूहिक खेती गर्न, व्यवसाय गर्न र नियमित बचत गर्न सहयोग पुर्याउँछ ।’