१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

भाषा र संस्कृतिले जोड्दै नेपालीमन

बैंककमा भेला भएका विश्वभरका नेपालीको भावुकता र साँस्कृतीक मातृमोह



  • आफ्नै खबर
  • १८ चैत २०८० आईतबार (८ महिना अघि)
  • पाठक संख्या २०९
  • काठमाडौं/  हाल दुबईमा एरोनोटिकल इन्जिनियर रहेकी सिक्किमकी गीता क्षेत्रीले आफ्नो बाल्यकालमा दसैँ, तिहार मनाएको अनुभव सुनाउँदा हलमा उपस्थित सबैको आँखा रसाएको थियो । चौबन्दी चोली र फरियामा सजिएकी गीताले दसैँमा रातो माटोले घर पोतेको, जमरा राखेको तथा तिहारमा देउसी खेलेको स्मरण गरेपछि सायद आ–आफ्नो जीवनसँग मेल खाएर होला सबैजना भावुक भएका थिए ।

    उहाँले स्मरण गर्नुभयो, ‘दसैँ आएपछि स्कुल छुट्टी हुन्थ्यो । दसैँका बेला घर सिँगारेर चिटिक्क पार्दा खुब आनन्द आउँथ्यो । हामीहरू र गाउँका हाम्रो उमेरका केटाकेटी निकै रमाउँथ्यौँ । घरमा जमरा राखेपछि हरेक दिन बिहान उठ्नेबित्तिकै कत्रा भए भनेर हेथ्र्यौँ । पिङ खेल्ने र स्थानीय खानाका परिकारको अर्कै मज्जा । तिहारको भाइटीका तथा देउसीमा रमाएको सायदै कसैले बिर्सेको होला ।’ 

    गीताको भन्दा कम भावाकुलता थिएन एक सय ८० वर्षअघि बर्मा पुगेका बाजेका चौथो पुस्ता लक्ष्मण न्यौपानेको अनुभव । उहाँले पहिलोपटक गत वर्ष नेपाल टेक्दाको साह्रै रोचक अनुभव सुनाउनुभयो । नेपाली भूमि टेक्दा भावुक भएर जमिन ढोगेका लक्ष्मणले विमानस्थलका कर्मचारीको गाली पनि मिठो लागेको प्रसंग सुनाउनुभयो । उहाँले मिठो मुस्कानका साथ भन्नुभयो, ‘इमिग्रेसन लाइनमा थिएँ । एकजना कर्मचारी निकै कड्किएर आउनुभयो र तपाईं नेपालीको लाइनमा नबसेर किन विदेशीको लाइनमा बसेको भनेर कराउनुभयो । प्रहरीले मसँग झर्किंदै गालीकै शैलीमा यसो भनिरहँदा पनि मेरो मनभित्र भने निकै मिठो लागिरहेको थियो । किनभने उहाँले मलाई नेपाली देखेरै नेपालीको लाइनमा बस्न भन्नुभएको थियो । तर, त्यो गाली मलाई भने साह्रै मिठो लागेको थियो ।’

    विभिन्न कारण र समयमा बर्मामा पुग्नुपरेका र हाल त्यहाँ रहेका नेपालीका अनेक कथा सुन्दा उपस्थित सबै भावविह्वल थिए । नेपाली मूलका बर्मेलीको मठमन्दिर, देवालय, शिवालय, चौतारी, पोखरी, नेपाली चाडबाड र संस्कारमा हुने एकरूपताका जीवन्त कुरा र वास्तविकता उहाँले उत्साहका साथ सुनाउनुभयो भने उपस्थित सबैले मन्त्रमुग्ध भएर सुन्नुभयो । 

    उहाँसँगै त्यस कार्यक्रममा आफ्ना धारणा राख्ने विभिन्न देशमा रहँदै आउनुभएका नेपालीभाषीहरूले दसैँका प्रचलन, तिहारको संस्कार र सयपत्री माला, लिंगे र रोटेपिङ, साउनेसंक्रान्तिमा लुतो फाल्ने चलनदेखि मकरसंक्रान्तिको तरुल र चाकु, असार १५ को दही–चिउरादेखिका नेपाली संस्कार झलझली याद आउने अनुभव सुनाउनुभयो । उहाँहरूले कोही बाध्यताले त कोही रहरले विश्वका विविध मुलुकमा पुगेको बताउनुभए पनि आफ्नो मातृ तथा पितृ भूमिको माया भने मुटुमै गाडिएर रहेको अनुभव साटासाट गर्नुभयो । 

    अघिल्लो साता थाइल्यान्डको राजधानी बैंककमा नेपाली मूलका र संसारका विभिन्न २७ देशमा छरिएर रहेका नेपालीभाषी जम्मा हुनुभएको थियो । यो अवसर जुराइदिएको थियो इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले । यही अवसरको सदुपयोग गर्दै नेपालीभाषीहरूले पनि दिल खोलेर आफ्ना विगत बाँड्नुभयो र मनका कुरा पोख्नुभयो । अनि आफ्ना सन्ततिहरूलाई पनि नेपालीपन सिकाइरहेको बताउनुभयो । उहाँहरूको भाव थियो, ‘नेपाली भाषा र संस्कृतिले नै संसारमा छरिएर रहेका नेपालीभाषीलाई जोड्न सक्दछ ।’ 

    बै‌ककमा पछिल्लो पुस्ता मात्र नभएर कम्तीमा तीन–चार पुस्तादेखि नै विदेशमा रहँदै आउनुभएका नेपाली मूलका र नेपालीभाषीहरू पनि जम्मा हुनुभएको थियो । तीमध्ये अधिकांशले नेपाल आएको अनुभव सुनाउनुभएको थियो भने कतिले पितापुर्खाले भनेसुनेका कुरा स्मरण गराउनुभएको थियो । 

    कतिपयले उहाँहरूका पितापुर्खा जन्मिएको जन्मिएको माटो, आफ्नो जन्मघर, नेपाली संस्कार र संस्कृति, आफ्ना भोगाइ र परिवेश तथा भाषाबारे एक–आपसमा चर्चा गर्नुभएको थियो । विश्वका विभिन्न मुलुकमा पुगेका ती नेपालीभाषीका सन्ततीले भूगोलको सीमाभन्दा पर पुगेर भावना र आफ्नोपनलाई फराकिलो पार्नुभएको थियो । विश्वका जुनसुकै मुलुकमा पुगे पनि नेपाली मन, नेपालीपन, नेपाली भाषा, साहित्य, कला र संस्कृति अँगाल्दै आफ्ना सन्तति र नयाँ पुस्तालाई यो मौलिकता हस्तान्तरण गर्ने हुटहुटी उहाँहरूमा देखिन्थ्यो । 

    यसै अवसरको सदुपयोग गर्दै यही भेलालाई पहिलो महाधिवेशनको स्वरूप दिएर उहाँहरूले नेपाली जातीय, सांस्कृतिक पहिचानलाई जीवन्त राख्न इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीको अध्यक्षतामा एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) पनि गठन गर्नुभएको थियो । कार्यक्रममा थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीले एएनओ विश्वमा रहेका नेपालीभाषीहरूलाई एकताको सूत्रमा बाँध्न र एक–आपसमा सहयोग र सद्भाव कायम राख्न सक्ने संस्थाका रूपमा विकास हुँदै जाने कामना गर्नुभयो । 
    नेपाल र नेपालीका नाममा जे–जस्ता संस्था स्थापना भई संगठित भए पनि नेपाली भाषा, साहित्य, संस्कार र संस्कृतिको संरक्षण र संवद्र्धन गरी नेपालीबीचको सहयोग र समन्वयमा लाग्ने सो संस्थाका प्रतिनिधिहरूले बताउनुभएको थियो । 

    एएनओका अध्यक्ष अधिकारीले यो अभियान विशुद्ध रूपमा संसारमा छरिएर रहेका नेपालीभाषी दाजुभाइ तथा दिदीबहिनीलाई एकताको एउटै मालामा गाँस्ने भावना र उद्देश्यले सुरु गरिएको जानकारी दिनुभयो । यो अभियान नेपाल, नेपाली जाति, नेपाली मातृ तथा पितृभूमि, नेपाली संस्कार र संस्कृति एवं नेपाली दाजुभाइ तथा दिदीबहिनीको साझा र आफ्नै संस्था भएको पनि स्पष्ट गर्नुभयो । 

    उहाँको यो प्रतिबद्धतापछि उपस्थित सबैले संसारमा रहेका नेपाली नागरिकका छोराछोरीलाई पनि नेपाली भाषा, संस्कार, संस्कृतिको ज्ञान दिलाई उहाँहरूमा पनि नेपाली पहिचानको जगेर्ना गरिराख्न तथा विदेशमा रहेका भावी सन्ततिहरूलाई आफ्नो मातृ तथा पितृभूमिबारे सदैव जानकार बनाइराख्न यसै संस्थामार्फत काम गर्ने प्रण गर्नुभएको थियो ।                                                                                                                                                                                                             

                                                                                                                                                                                                                                रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?