काठमाडौं/ गोकर्णेश्वर नगरपालिकाले नगरभित्र स्थायी बसोवास गर्दै साहित्यमा साधनारत सर्जक तथा समाजसेवी विद्वान् विदुषीमध्येबाट छनाोट गरी नगर साहित्य पुरस्कार तथा सम्मान अर्पण गर्ने निर्णय गरेको छ । एक लाख रुपैयाँ राशिबराबरको पुरस्कारका लागि यस वर्ष प्रा.डा. ऋषिराम पोखरेल र गीतकार एवं वरिष्ठ कवि कञ्चन पुडासैनी छनोट हुनुभएको छ ।
उहाँहरूलाई ०८० चैत २१ गते बुधबार दिउँसो २ बजे नगरपालिकाको सभाहलमा आयोजना हुने विशेष समारोहमा उक्त सम्मान प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
शुक्ल यजुर्वेदमा विद्यावारिधि गरेका प्रा.डा. पोखरेल वैदिक वाङ्मयका अध्येता अनुसन्धाता, अध्यापक तथा गुरुकुलको स्थापना र सञ्चालनमा प्रमुख भूमिकाकार पनि हुनुहुन्छ । तीन दशकसम्म नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठमा शुक्ल यजुर्वेदको अध्यापन गराउनुभएका पोखरेलले सोही विषयमा नेपाली अनुवादसहित पुस्तक प्रकाशन गर्नुभएको छ ।
त्यस्तै, पुडासैनी ‘प्रत्यागमन’ ग्रन्थका लागि ‘मदन पुरस्कार २०४१’ बाट सम्मानित साहित्यकार हुनुहुन्छ । उहाँ महाकवि देवकोटादेखि नाट्यसम्राट समसँग भेट्ने, नजिकिने अवसर पाउनुभएको व्यक्ति हुनुहुन्छ ।
नगरपालिकाले नगरवासी साहित्यकारका कृतिहरू एक सय प्रति खरिद गरेर पुस्तकालयहरूलाई प्रदान गर्ने तथा नगरमा भएका साहित्यिक संस्थालाई प्रत्येक वर्ष सहयोग गर्दै साहित्यिक कार्यक्रमहरूको आयोजनासमेत गर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस