ताप्लेजुङ/ ताप्लेजुङका सामुदायिक विद्यालयमा शैक्षिक सत्र सुरु हुनुभन्दा दुई साताअघि नै पाठ्यपुस्तक वितरण सुरु भएको छ । जिल्लाका स्थानीय पुस्तक तथा स्टेसनरी व्यवसायीमार्फत सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण सुरु भएको हो ।
शैक्षिक सत्र सुरु हुनुभन्दा दुई साताअघि नै पाठ्यपुस्तक जिल्लामा आएपछि वितरण सुरु गरिएको जिल्लाको पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले जनाएको छ ।
तत्कालका लागि कक्षा एकदेखि १० सम्मका २२ हजार थान पाठ्यपुस्तक आएसँगै वितरण सुरु गरिएको महासंघका अध्यक्ष ज्ञानप्रसाद मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली माध्यमका प्रतिकक्षा एक हजार पाँच सयका दरले १५ हजार थान, कक्षा एकदेखि सातसम्म अंग्रेजी माध्यमका तीन हजार पाँच सय थान र लिम्बू भाषाको पुस्तक कक्षा एकदेखि सातसम्मको तीन हजार पाँच सय थान छन् ।
नयाँ शैक्षिक सत्र सुरु हुनुअगावै सम्बन्धित विद्यालयमा पाठ्यपुस्तक पु¥याउने गरी जिल्लामा पुस्तक ल्याइएको संघका सदस्य दिनेश भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस वर्ष सबै कक्षाका पुस्तकमा कुनै पनि विषय छुटाएका छैनौँ । विद्यार्थीलाई आवश्यक सबै पुस्तक एकैपटक उपलब्ध गराएका छौँ ।’ महासंघले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड विराटनगरबाट सामुदायिक विद्यालयका लागि पाठ्यपुस्तक ल्याएको हो । ताप्लेजुङमा तीन सय ३० सामुदायिक विद्यालय रहेको जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस